सर्लाही, ०६ जेठ । आइतबार चितवनमा हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका लागि जिल्ला सुरक्षा समितिले चारवटै सुरक्षा निकायको संयुक्त योजनामा सुरक्षा तयारी गरेको छ ।
जिल्ला सुरक्षा समितिका प्रमुख चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लास्थित सुरक्षा निकायका बैठक बसेर महाधिवेशनमा आउने विशिष्ट पदाधिकारीसहित सहभागीलाई सुरक्षा दिने विस्तृत सुरक्षा योजना बनाइएको हो ।
उनले सुरक्षाका चारवटै निकायलाई परिचालन गर्ने जानकारी दिए । तर, पहिलो घेरामा प्रहरीको सुरक्षा रहने छ । जसमा जिल्ला प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयबाट समेत थप जनशक्ति ल्याइने चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।
भोलि हुने महाधिवेशनको सुरक्षा व्यवस्थापनको चुनौतीको रुपमा ट्राफिक व्यवस्थापनलाई लिइएको छ । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार ट्राफिक व्यवस्थापन र नारायणी पुल जस्ता क्षेत्रलाई बढी संवेदनशील क्षेत्रको रुपमा सुरक्षा समितिले लिएको छ ।
ट्राफिक व्यवस्थापनको लागि सेक्टर छुट्याएर व्यवस्थापन गरिएको एसपी पौडेलले जानकारी दिए । जसमा पूर्वबाट आउनेलाई साझा बसपार्क, पश्चिमबाट आउनेलाई वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन भएको चौर गरेर मुख्य सडकमा प्रभाव नपर्ने गरि व्यवस्थापनको तयारी गरिएको उनले जानकारी दिए । भीआइपी सुरक्षाको लागि पनि जिल्ला सुरक्षा समितिले तयारी गरेको छ ।
भोलिको महाधिवेशनको लागि हिजो नै तीन जना मन्त्री चितवन आइसकेका छन् । कानून मन्त्री सोविता गौतम, शिक्षा मन्त्री सस्मित पोखरेल, कृषि तथा पशुपंक्षी मन्त्री गीता चौधरी चितवन आइसकेका छन् । अन्य मन्त्रीहरु पनि बाटोमा रहेका सुरक्षा निकायले जनाएका छन् ।
संघीय सरकारका प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीहरु महाधिवेशनमा सहभागी हुने जनाइएको छ ।प्रधानमन्त्री बालेन्द्र शाह भने भोलि आउने सुरक्षा निकायलाई जानकारी आएको छ । तर, उनी आउने समय र बसाइ कहाँ हुने भन्ने अझै यकिन नभएको जनाइएको छ ।
