सर्लाही, ७ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई विगतका विकृति र विसंगतिबाट मुक्त गर्दै नयाँ दिशातर्फ लैजाने अवसर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त भएको बताएका छन् ।
आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले रास्वपाको महाधिवेशनले नेपाली राजनीतिमा नयाँ युगको थालनी गर्न सक्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘अब मुलुकलाई विगतका विकृति–विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा लैजाने अवसर रास्वपालाई प्राप्त भएको छ । यो महाधिवेशन नयाँ युगको थालनीको महत्वपूर्ण आधार बन्न सक्छ भन्ने मलाई लागेको छ ।’
अध्यक्ष यादवले संविधानसभामार्फत जारी भएको वर्तमान संविधानमा महत्वपूर्ण उपलब्धिहरू समेटिए पनि अझै अधुरो, अपूर्ण र त्रुटिपूर्ण पक्षहरू रहेको टिप्पणी गरे ।
उनका अनुसार संविधानभित्र नै केही विरोधाभासहरू रहेका छन्, जसलाई समयानुकूल सुधार गर्न आवश्यक छ ।
उनले संघीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता संविधानका महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै ती व्यवस्थाहरूको संरक्षण र सुदृढीकरण आवश्यक रहेको बताए। तर संविधानका कतिपय प्रावधानहरू अझै अमूर्त र अपूर्ण रहेको उनको भनाइ थियो ।
यादवले वर्तमान समयको आवश्यकता संविधान परिमार्जन र संशोधन रहेको उल्लेख गर्दै त्यसका लागि राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
उनले भने,‘मुलुकमा विगतमा संविधासभाबाट संविधानको घोषणा गरियो । त्यो संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो छ । आफैभित्र विरोधाआवास छ । तर यसमा केही महत्वपूर्ण आयामहरु पनि छन् ।
संघीयता, गणतन्त्र, समावेशीता धर्मनिरपेक्षताजस्ता महत्वपूर्ण पक्ष भएपनि धेरै कुरा अमूर्त र अपूर्ण छन् । आजको आवश्यकता संविधानलाई परिमार्जन र संसोधन गर्नुपर्ने महत्वपूर्ण ऐतिहासिक जिम्मेवारी यहाँहरुको काँधमा छ ।’
उनले लोकतन्त्रलाई थप सुदृढ, समावेशी र जनमुखी बनाउन संविधानका अपूर्ण पक्षहरूलाई सम्बोधन गर्दै मुलुकलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यकता औँल्याए ।
