सर्लाही, ७ असार । आमसञ्चार प्राधिकरण मधेश प्रदेश, जनकपुरधामको आयोजना तथा फेडरलिज्म एण्ड लोकलाइजेसन सेन्टरको प्राविधिक सहयोगमा संघीयता सबलीकरणसम्बन्धी दुई दिने समाचार लेखन प्रशिक्षण कार्यक्रम बाराकाे निजगढमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले प्रशिक्षणबाट सिकेका विषयलाई समाचार र लेखमार्फत जनतासम्म पुर्याउन पत्रकारहरूलाई आग्रह गरेका थिए ।
उनले संघीयता कार्यान्वयनमा सरकार क्रमशः जिम्मेवार बन्दै गएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताए ।
मन्त्री पटेलले भ्रष्टाचार तथा अनियमितताका विषयमा प्रदेश र स्थानीय तहको बढी आलोचना हुने गरेको उल्लेख गर्दै पत्रकारहरूले तथ्यपरक र जिम्मेवार ढंगले जवाफदेहिताको अभ्यास गराए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।
उनले पत्रकारितामा अध्ययन, अनुसन्धान र तथ्यको आधारमा समाचार सम्प्रेषण हुनुपर्नेमा जोड दिएका थिए ।
दुई दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा विभिन्न देशमा रहेका एकात्मक तथा संसदीय शासन प्रणाली, परिवेशअनुसारको सेवा प्रवाह, संघीय संरचनाअन्तर्गत स्थानीय, प्रदेश र संघीय तहको खर्च तथा जिम्मेवारीका विषयमा विस्तृत छलफल गरिएको थियो ।
संघीयता विज्ञ तथा राष्ट्रिय सभाका सदस्य डा. खिमलाल देवकोटा र ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक विनय मिश्रले प्रशिक्षण दिएकाे कार्यक्रममा देशभरका स्थानीय तहको कुल खर्चको तुलनामा सातवटै प्रदेशको खर्च जम्मा ९.८ प्रतिशत मात्र रहेको तथ्य प्रस्तुत गर्दै प्रदेश सरकार खर्चिलो भएको भन्ने धारणा कत्तिको यथार्थपरक छ भन्ने विषयमा सहभागीहरूसँग छलफल गरिएको थियो ।

त्यसैगरी संघीय सरकारका कर्मचारी व्यवस्थापनमा हुने खर्चको तुलनामा सात प्रदेशको कुल खर्च ४.६७ प्रतिशत मात्र रहेको तथ्याङ्क प्रस्तुत गर्दै प्रदेश सरकारमाथि हुने आलोचनाका कारण र यथार्थबारे समेत चर्चा गरिएको थियो ।
यस्तै प्रदेश सरकार खर्चिलो, बोझिलो वा अझ जिम्मेवार बनाइनुपर्ने संरचना हो भन्ने विषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो ।
बहुमत प्राप्त सरकारलाई संसदमार्फत जवाफदेही बनाउने राष्ट्रिय सभाको भूमिका, संघ, प्रदेश तथा स्थानीय तहले प्रदान गर्ने सेवा, खर्च तथा जिम्मेवारीका विषयमा पनि जानकारी गराइएको थियो ।
आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खड्काकाे सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रमेश सुवेदी तथा आमसञ्चार प्राधिकरण मधेश प्रदेशका प्रशासकीय अधिकृत सन्तोष साह लगायतको उपस्थिति रहेको थियाे ।
प्रशिक्षण कार्यक्रममा बारा, पर्सा, रौतहट, सर्लाही लगायत मधेश प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो ।
