सर्लाही, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा मनीष झा र विपिन आचार्यले दाबी गरेका छन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका दुवै जनाले ‘महामन्त्री बन्ने’ भन्दै मत मागिरहेका छन् ।
भरतपुरस्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा रास्वपाको बन्दसत्र तय गरिएको छ । देशभरबाट आएका महाधिवेशन प्रतिनिधि प्रदर्शनी केन्द्रमा छन् ।
रास्वपा पदाधिकारीका आकांक्षी नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएर मत मागिरहेका छन् । रास्वपामा केन्द्रीय सदस्यबाटै पदाधिकारी चयन गर्ने व्यवस्था छ । पहिले केन्द्रीय सदस्यको निर्वाचन हुनेछ ।
केन्द्रीय सदस्यको उम्मेदवार बनेका झा र आचार्यले आफूलाई महामन्त्रीको उम्मेदवारका रुपमा उभ्याएका छन् । अहिले झा प्रवक्ता छन् भने आचार्य सहमहामन्त्री छन् ।
दुवै जना महामन्त्रीको बनाउनका लागि ‘केन्द्रीय सदस्य जिताइदिनुहोस्’ भनेर भोट मागिरहेका छन् । रास्वपा विधानअनुसार, पदाधिकारीको उम्मेदवार हुनका लागि पहिला केन्द्रीय सदस्य निर्वाचित हुनुपर्छ ।
रास्वपा प्रवक्ता झाले आफू महामन्त्रीको स्वभाविक दावेदार भएको बताए । ‘आम कार्यकर्ताले यसअघि मलाई मन्त्रीको रुपमा देख्न चाहनुभएको थियो । मन्त्री बन्नुभएन अब महामन्त्री बन्नुपर्छ भन्नुभएको छ,’ झाले भने, ‘म त्यसैको तयारीमा छु । मेरो महामन्त्रीको दाबी स्वाभाविक हो ।’
त्यस्तै, आचार्यले पनि आफू स्वाभाविक रुपमा महामन्त्रीको दावेदार भएको बताए। ‘म महामन्त्रीको स्वाभाविक दावेदार हुँ । अहिले केन्द्रीय समितिमा मलाई जिताउनुहोस्,’ आचार्यले प्रतिनिधिसँग भनिरहेका छन्, ‘अब महामन्त्रीको रुपमा अघि बढ्छु । मलाई महामन्त्रीको रुपमा देख्ने कि कहाँ देख्ने तपाइँहरूको हातमा छ ।’
रास्वपा महाधिवेशनको दोस्रो दिन सोमबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु हुने कार्यतालिका थियो। तर, दिउँसोसम्म सुरु भएको छैन ।
तथापि, रास्वाप नेताहरू महाधिवेशन प्रतिनिधिसँग मत मागिरहेका छन् । महाधिवेशन प्रतिनिधिको निर्क्योल गर्न हम्मेहम्मे भइरहेको छ। प्रतिनिधिको परिचयपत्र वितरण जारी रहेको छ ।
