सर्लाही, ९ असार । सम्पत्ति शुद्धीकरण अभियोगमा सोमबार सुर्खेतमा पक्राउ गरिएका पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई आज (मंगलबार) काठमाडौँस्थित विशेष अदालतमा उपस्थित गराइँदै छ ।
सुर्खेतबाट सोमबारै साँझ बाँकेको नेपालगन्ज लगिएका एमाले उपाध्यक्ष पौडेललाई त्यहाँबाट गाडीमा काठमाडौँ ल्याइँदै छ । यो खबर बनाउँदासम्म उनी बाटैमा छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी उत्तमकुमार घिमिरेका अनुसार काठमाडौँ ल्याइपुर्याइएपछि पौडेललाई सुरुमा सम्पत्ति शुद्धीकरण विभागमा ल्याइनेछ ।
‘त्यसपछि म्याद थपको प्रक्रिया लागि विशेष सरकारी वकिल कार्यालय माइतीघर लगेर त्यहाँबाट विशेष अदालतमा उपस्थित गराइने छ’, उनले मंगलबार बिहान भने ।
पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान अगाडि बढाइएको हो ।
सोमबार सुर्खेतमा पक्राउ गर्नुअघि भैँसेपाटीस्थित उनको निवासमा छापा मारेर विभागको टोलीले केही उपकरण र कागजात बरामद गरेको छ ।
