सर्लाही, ९ असार । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) र भारतस्थित ग्लोबल इन्भेस्टमेन्ट एण्ड ट्रेड एडभाइजर्स (गीता) बीच व्यापार, लगानी तथा आर्थिक सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

जुन २०२६ मा सम्पन्न उक्त समझदारीले नेपाल र भारतबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, ज्ञान तथा अनुभवको आदान–प्रदानलाई सहज बनाउने तथा दुवै देशका लगानीकर्ता र उद्यमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ ।

सम्झौताअनुसार निक्की र गीताले व्यापारिक प्रतिनिधिमण्डलको आदान–प्रदान, लगानी प्रवद्र्धन कार्यक्रम, क्षेत्रगत अन्तरक्रिया, नीतिगत संवाद, रोडशो तथा विभिन्न सरोकारवालासँग परामर्शलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गर्नेछन् ।

सहकार्यको मुख्य उद्देश्य व्यवसायी, लगानीकर्ता, उद्योग वाणिज्य संघ, औद्योगिक निकाय, सरकारी संस्था तथा विकास साझेदारबीच संरचित सहकार्यलाई प्रवद्र्धन गर्नुका साथै प्रमुख आर्थिक क्षेत्रहरूमा देखिएका नयाँ अवसरहरूको उपयोग बढाउनु रहेको जनाइएको छ ।

समझदारीपत्रमा निक्कीका निर्देशक मार्शल राठौर तथा गीताका प्रबन्ध साझेदार प्रिया रावत ले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरूले नेपाल–भारत आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउन संस्थागत सहकार्य महत्वपूर्ण हुने बताएका छन् ।

दुवै संस्थाले यस समझदारीमार्फत आगामी दिनमा द्विपक्षीय व्यापार तथा लगानी प्रवाह बढाउन, नयाँ व्यापारिक साझेदारी विकास गर्न तथा दुई छिमेकी राष्ट्रबीच आर्थिक सहकार्यका लागि थप गतिशील र प्रभावकारी वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *