काठमाण्डौ, ९ असार । भारत उत्तर प्रदेशको लखनउको अलिगञ्ज क्षेत्रमा हिजो एक कोचिङ इन्स्टिच्युटमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ ।
चिकित्सकहरूका अनुसार घटनामा धेरैजसोको धुवाँले निस्सासिएर श्वासप्रश्वासमा समस्या भई ज्यान गएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआइले जनाएको छ ।
किङ जर्ज मेडिकल युनिभर्सिटीका मेडिकल सुपरिन्टेन्डेन्ट प्रेम राज सिंहका अनुसार अस्पताल ल्याउँदा नै १५ जनाको ज्यान गइसकेको थियो । अन्य आठ जनालाई पनि गम्भीर अवस्थामा अस्पताल पुर्याइएको छ । आगलागीबाट भवनमा भएको लाइब्रेरी र कम्प्युटर ट्रेनिङ इन्स्टिच्युटमा क्षति पुगेको छ ।
यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई आर्थिक सहायताको घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री कार्यालयले विज्ञप्तिमा प्रधानमन्त्रीको राष्ट्रिय राहत कोषबाट ज्यान गुमाएकाको हरेक परिवारलाई दुई लाख र घाइतेलाई जनही ५० हजार भारु दिने उल्लेख छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि घटनास्थलको अवलोकन गर्नुभएको छ ।
