सर्लाही, ९ असार । प्रेस काउन्सिल नेपालले पछिल्लो समय केही सञ्चार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्ताबाट पत्रकारिता आचारसंहिता र पेसागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
प्रेस विज्ञप्तिमार्फत काउन्सिलले नियमित अनुगमनका क्रममा पत्रकारिता पेसाको गरिमा र विश्वसनीयतामा असर पर्ने विभिन्न गतिविधि देखिएको उल्लेख गरेको छ ।
काउन्सिलका अनुसार बिनाअनुमति तथा पत्रकार परिचयपत्रबिना विभिन्न कार्यालय, शैक्षिक संस्था र कार्यक्रममा प्रवेश गर्ने, अमर्यादित व्यवहार प्रदर्शन गर्ने, दुर्व्यहारजन्य गतिविधिमा संलग्न हुने तथा विवाद र हातपातका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ ।
त्यसैगरी अश्लील सामग्रीलाई स्थान दिने, अनलाइन समाचार पोर्टल दर्ता गरे पनि नियमित सामग्री प्रकाशन नगर्ने तथा सञ्चारमाध्यम वा सञ्चारकर्मीले सञ्चालन गरेका युट्युब च्यानल, फेसबुक पेज र रिलमार्फत भ्यु बढाउने उद्देश्यले तथ्यहीन, झैझगडा तथा गालीगलौजपूर्ण सामग्री सम्पादनबिनै प्रसारण गर्ने कार्यसमेत बढेको काउन्सिलले जनाएको छ ।
काउन्सिलले यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र स्थापित मर्यादामा गम्भीर नकारात्मक प्रभाव पारेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा पत्रकारिता आचारसंहिताअनुसार पेसागत आचरण, मर्यादा र जिम्मेवारी कायम राख्दै सत्य, तथ्य, निष्पक्ष र सन्तुलित पत्रकारिताको अभ्यासबाट मात्रै पत्रकारिताको विश्वसनीयता अभिवृद्धि हुने बताइएको छ ।
काउन्सिलले सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक गतिविधिबाट अलग रही आचारसंहिताको परिधिभित्र बसेर सत्य, तथ्य र जिम्मेवारीबोधका साथ सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ ।
