सर्लाही, १० असार । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट ल्याएको छ ।
बुधबार आयोजित वीरगन्ज महानगरपालिकाको नगरसभाको २० औं अधिवेशनमा महानगरका कार्यवाहक मेयर इम्तियाज आलमकातर्फबाट नगरकार्यपालिका सदस्य जगत साह कानुले आगामी आर्थिक वर्षका लागि चार अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित आय–व्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।
वीरगन्ज महानगरले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब १९ करोड बढीको बजेट ल्याएको छ । चालु आर्थिक वर्षका लागि वीरगन्ज महानगरको बजेट तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको थियो ।
आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत, पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार अर्थात् कूल बजेटको ४४.६ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ पाँच करोड अर्थात् १.१ प्रतिशत रहेको उल्लेख छ ।
आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतहरुमा संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड,संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट पाँच करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेशन शुल्क बापत ४५ करोड र गत वर्षको नगद मौज्दातबाट चार करोड ६९ लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड व्यहोरिने उल्लेख छ ।
बजेट प्रस्तुत गर्दै कानुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा र स्वास्थ्य सेवा, महानगरको सरसफाई व्यवस्थापन, वन तथा वातावरण संरक्षण, कृषि ,पर्यटन र उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार र प्रविधिमा आधारित सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको जानकारी गराए ।
त्यसअघि नगर सभामा कार्यवाहक मेयर आलमले आगामी आर्थिक वर्षको लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आलमकै अध्यक्षतामा भएको नगरसभाको २० औं अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर बोहरा, नगरकार्यपालिका सदस्य , ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य, महानगरपालिका कार्यालयका कर्मचारीलगायतको सहभागिता थियो ।
