सर्लाही, ११ असार । सरकारले कक्षा १२ को परीक्षाका विषयमा विद्यार्थीले उठाएको आवाज सम्बोधन गर्न समिति गठन गरेको छ । 

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कक्षा १२ का विद्यार्थीको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षांक तथा डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको जानकारी दिएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको मन्त्री पोखरेलले बताए । 

कक्षा १२ को परीक्षाको नतिजा हतारमा प्रकाशित गर्दा गढबढ भएको भन्दै विद्यार्थीले विरोध गर्दै आएका छन्। उनीहरूले बिहीबार माइतघर मण्डलमा समेत प्रदर्शन गरेका थिए । 

त्यसलाई लिएर आफ्नो ध्यानाकर्षण भएको मन्त्री पोखरेलले जनाएका छन् । उनले नतिजा प्रकाशन गर्न हतार नगरिएको दाबी गरेका छन् । 

‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ उनले भनेका छन् । 

उनले आन्दोलनरत विद्यार्थीप्रति अपमानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन् । ‘विद्यार्थीप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ ।

शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ पोखरेलले भनेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *