सर्लाही, ११ असार । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विजयराज सुवेदीको अध्यक्षतामा आज (बिहीबार) जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न धार्मिक संघसंस्थाका प्रमुख, धर्मगुरु तथा प्रतिनिधिहरूको उपस्थितिमा समन्वय बैठक सम्पन्न भएको छ ।

बैठकले जिल्लाको समग्र शान्ति सुरक्षा, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्ने विषयमा छलफल गर्दै विभिन्न निर्णय गरेको छ ।

बैठकमा सदियौँदेखि बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता बोकेको सर्लाही जिल्लाको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई अक्षुण्ण राख्न सबै पक्ष प्रतिबद्ध रहने निर्णय गरेको छ ।

कुनै पनि समुदायको धार्मिक आस्था, परम्परा र भावनामाथि आँच पुग्ने गतिविधि नगर्न तथा नगराउन सबै पक्षलाई आग्रह गर्दै समाजमा आपसी मेलमिलापको वातावरण सुदृढ बनाउन धार्मिक संघसंस्थाहरूले अग्रणी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी, कुनै पनि धार्मिक उत्सव, र्‍याली, जुलुस वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा स्थानीय प्रशासनलाई पूर्व जानकारी गराई स्वीकृत मार्ग र समय तालिकाअनुसार मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ । साथै, यस्ता कार्यक्रम तथा र्‍यालीमा घातक हतियार, शस्त्र प्रदर्शन तथा हातहतियार बोक्न नपाइने व्यवस्था गरिएको छ ।

बैठकमा फेसबुक, टिकटक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक विद्वेष फैलाउने, भ्रामक हल्ला प्रचार गर्ने तथा उत्तेजक पोस्ट, भिडियो वा टिप्पणी गर्ने कार्यलाई पूर्ण रूपमा निरुत्साहित गर्ने निर्णय गरेको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि साइबर अपराध तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने जनाइएको छ ।

स्थानीय तहमा उत्पन्न हुन सक्ने सम्भावित विवाद वा असमझदारीलाई तत्काल समाधान गर्न जिल्लाका धार्मिक गुरु, नागरिक समाज तथा प्रशासनका प्रतिनिधिहरू सम्मिलित ‘सद्भाव समन्वय समिति’ गठन गरिने भएको छ । कुनै पनि घटनामा अफवाहको पछि नलागी संवादको माध्यमबाट समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा मर्यादित, सम्मानजनक र सद्भावयुक्त वातावरण कायम राख्न डिजे बाजा तथा अन्य मुलुकका झण्डा प्रयोग नगर्ने निर्णय पनि गरिएको छ ।

मोहर्रम पर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन असार १२ गतेदेखि १४ गतेसम्म आवश्यकता अनुसार पर्व मनाइने स्थानहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा सम्बन्धित धर्मावलम्बी समुदायका स्वयंसेवक परिचालन गरिने भएको छ ।

सोही अवधिमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा रोक लगाइने निर्णय गरिएको छ । साथै, आवश्यकताअनुसार शान्ति सुरक्षाका लागि सुरक्षा संयन्त्र परिचालन गर्ने व्यवस्थाको समन्वय जिल्ला सुरक्षा समिति सर्लाहीले गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *