सर्लाही, १२ असार । सर्लाही सदरमुकाम मलंगवामा जिल्लाको समग्र शान्ति सुरक्षा, विपद् व्यवस्थापन, सेवा प्रवाह, विकास निर्माण तथा लागुऔषध नियन्त्रणलगायतका विषयमा आज (शुक्रबार) सर्वपक्षीय छलफल सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा सर्लाहीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरू क्षेत्र नं. १ का नितीमा भण्डारी कार्की, क्षेत्र नं. ३ का नरेन्द्र साह कलवार र क्षेत्र नं. ४ का डा. अमरेशकुमार सिंह, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
छलफलमा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापनको पूर्वतयारी, नागरिकलाई प्रभावकारी सेवा प्रवाह, विकास निर्माणका कार्यलाई तीव्रता दिने उपाय तथा लागुऔषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणका विषयमा विस्तृत रूपमा छलफल गरिएको थियो । साथै, सम्बन्धित निकायहरूबीच समन्वय, सहकार्य र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले जोड दिएका थिए ।
कार्यक्रममा उठाइएका विभिन्न विषयमा आवश्यक निर्णयसमेत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाबाट निर्वाचित संघीय तथा प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सरकारी कार्यालयका प्रमुखहरूलाई एकै स्थानमा भेला गरी जिल्लाका साझा मुद्दामाथि सर्वपक्षीय रूपमा छलफल गरिएको यो पहिलो कार्यक्रम हो । यसले जिल्लाको सुशासन, सेवा प्रवाह र विकासका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
