सर्लाही, १३ असार । विराटनगरमा हुने गुण्डागर्दीमा संंलग्न रहेको आरोप लाग्दै आएका अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ज्यान मुद्वामा कारगारमा सजाय भुक्तान गरेर बाहिर निस्किएका गिरीले मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूबाट असुली गरेको र उनीहरूको भत्ता अपचलन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनी पछिल्लो समय भने कांग्रेसको राजनीतिमा संलग्न थिए ।
उनी नेपाली कांग्रेसको विराटनगर महानगरको सभापतिमा निर्वाचित हुन चाहान्थे । गिरी फाउण्डेशनका नाममा समाजसेवा गरेको बताउने गिरीलाई शनिबार बिहान विराटनगर-८, मधुमारास्थित उनकै निवासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बिहानै पुगेको प्रहरीको टोलीले गिरीको निवास तथा घर अगाडि पार्किङ गरी राखिएका सेतो र कालो रङका दुईवटा कारको समेत खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा घर वा गाडीमा कुनै शंकास्पद वस्तु फेला नपरे पनि थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार, गिरीमाथि कारागारका कैदीबन्दीलाई सरकारले दिने दैनिक भत्ता, जाडो र गर्मीको लुगा भत्ता तथा कैदीबन्दीले श्रम गरेर कमाएको रकम समेत असुली गर्ने गरेको आरोप छ ।
मोरङ कारागारमा हाल १ हजार ९२ पुरुष र १०७ महिला गरी कुल १ हजार १९९ कैदीबन्दी रहेका छन्, जसले दैनिक ८० रुपैयाँका दरले करिब १६ हजार रुपैयाँ भत्ता पाउने गर्छन् । त्यसबाहेक कारागारभित्र करिब ५ सय जनाले मुडा बुन्ने र १ सय जनाले गलैँचा बुन्ने काम गर्ने गर्दछन् ।
ती सामग्री बिक्रीबाट आएको रकम र सरकारले पठाउने जाडो गर्मी भत्ता समेत गिरीले कारागारका चौकीदार राकेश यादवसँगको मिलेमतोमा लिने गरेको गुनासो प्रहरीमा पुगेको थियो ।
गिरी गुण्डागर्दीमा सम्लग्न रहेको आरोप समेत लाग्दै आएको छ ।गुण्डागर्दीमा सम्लग्न भएका गिरी पछि काङ्ग्रेस निकट भएका थिए । उनी ठेक्का पट्टामा समेत संलग्न छन ।
मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए। उनले यसअघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रही कैद भुक्तान गरिसकेका व्यक्ति भएको बताए ।
