सर्लाही, १४ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए ।
‘उहाँको जीवनकाल छोटो रह्यो । छोटो समयमै उहाँले असाधारण काम गर्नुभयो र इतिहासलाई प्रभावित पार्नुभयो,’उनले भने ।
ओलीले सोभियत संघको विघटन र पूर्वी युरोपका समाजवादी शासन पतनपछि विश्वभर कम्युनिष्ट आन्दोलन संकटमा परेका बेला मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवादको अवधारणा अघि सारिएको स्मरण गरे ।
‘त्यस्तो अवस्थामा हामीले जनताको बहुदलीय जनवादको प्रकाशमा एउटा बाटो लियौँ,’ उनले भने ।
उनले एमालेका नीति सही रहेको दाबी गर्दै पार्टी कुनै विचार वा नीति परिवर्तन गर्न एकता–एकीकरणको छलफलमा नरहेको बताए ।
उनले भने,‘हाम्रा नीतिहरू बिल्कुल सही छन् । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सबै क्षेत्रमा सही नीति निर्धारण गरेका छौं ।’
ओलीले एमालेको गन्तव्य ’समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गर्दै त्यसलाई नै समाजवादको व्यावहारिक स्वरूपका रूपमा व्याख्या गरे ।
‘हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली हो। समाजवाद भनेको यही हो,’ उनले बताए ।
उनले वर्तमान सरकार प्रतिगमनको उपज भएको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिलाई कमजोर पार्ने उद्देश्यका साथ वैधानिक सरकार हटाइएको दाबी गरे ।
ओलीले एमालेविरुद्ध झुटा प्रचार, अफवाह र चरित्रहत्या गरेर जनतामा भ्रम सिर्जना गरिएको आरोप पनि लगाए ।
‘हामीले देश बर्बाद पारेका होइनौँ। झुटा प्रचार गरेर हामीलाई बदनाम गर्ने र चरित्र हत्या गर्ने काम गरियो । हामी अहिले लडेका छौँ, तर मरेका होइनौँ। फेरि उठ्छौँ, प्रतिगमनवादीहरूसँग लड्छौँ र पराजित गर्छौँ। हाम्रो विजय अवश्यंभावी छ,“ उनले भने ।
उनले वर्तमान सरकारले संविधानविपरीत अध्यादेश ल्याएको, श्रमिक अधिकार कमजोर बनाएको तथा राष्ट्रिय हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई प्रतिगमनविरुद्ध एकजुट हुन आह्वान गरे ।
