सर्लाही, १५ असार । सर्बियामा विगत डेढ वर्षदेखि जारी विद्यार्थी नेतृत्वको सरकार विरोधी आन्दोलनको तीव्र दबाबपछि राष्ट्रपति आलेक्सान्दार भुचिचले आगामी केही हप्ताभित्रै आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

राजधानी बेलग्रेडमा आयोजित सरकारी पक्षको एक ठूलो र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति भुचिचले आफू अब केही हप्ता मात्र राष्ट्रपति पदमा रहने र त्यसपछि राजीनामा दिएर देशलाई मध्यावधि राष्ट्रपतीय तथा संसदीय निर्वाचनतर्फ लैजाने बताएका हुन् ।

सन् २०२४ को नोभेम्बरमा देशको उत्तरी सहर नोभी सादमा एउटा रेलवे स्टेसनको क्यानोपी भत्किँदा १६ जनाको मृत्यु भएपछि सर्बियामा लगातार सरकार विरोधी प्रदर्शनहरू हुँदै आएका छन् ।

आन्दोलनकारी विद्यार्थी, विपक्षी दल र नागरिक समाजले उक्त दुर्घटनालाई सरकारी निकायको चरम लापरबाही, कमजोर निर्माण व्यवस्थापन र प्रणालीगत भ्रष्टाचारको प्रतीकका रूपमा लिँदै आएका छन् ।

यसअघि प्रदर्शनकारीहरूलाई ‘विदेशी एजेन्ट’ को संज्ञा दिँदै सन् २०२७ मा आफ्नो कार्यकाल सकिनुअघि निर्वाचन गराउन अस्वीकार गर्दै आएका भुचिच अन्ततः आन्दोलनको बढ्दो दबाबका कारण पछि हट्न बाध्य भएका हुन् ।

सर्बियाको निर्वाचन कानुन अनुसार, दोस्रो कार्यकालको अन्त्यतिर रहेका भुचिचले पुनः राष्ट्रपतिको उम्मेदवार बन्न पाउने छैनन् ।

यद्यपि, राजनीतिक विश्लेषकहरूका अनुसार भुचिचको यो राजीनामा राजनीतिबाट सन्यास लिनका लागि नभएर सत्ताको नयाँ रणनीति मात्र हो ।

उनी राष्ट्रपति पदबाट हटेर आफ्नो कुनै निकट सहयोगीलाई उक्त पदमा स्थापित गराउने र आगामी संसदीय निर्वाचनमा आफ्नो सत्तारूढ ‘सर्बियन प्रोग्रेसिभ पार्टी’ लाई जिताएर पुनः शक्तिशाली प्रधानमन्त्रीका रूपमा सत्तामा फर्कने दाउमा छन् ।

यसअघि सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्री रहिसकेका भुचिचले आगामी निर्वाचनमा आफ्नो पार्टीको चुनावी सूचीको नाम ‘युनाइटेड सर्बिया’ राख्ने प्रस्ताव समेत गरेका छन् र आफ्नो दलले पहिलेभन्दा अझ बढी सिट जित्ने दाबी गरेका छन् ।

राष्ट्रपति भुचिचले राजीनामाको घोषणा गरे पनि राजधानी बेलग्रेडभन्दा झन्डै १७० किलोमिटर दक्षिणमा पर्ने क्रालेभो सहरमा भेला भएका हजारौँ प्रदर्शनकारीहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।

बेलग्रेडका प्राध्यापक नेमान्जा कारोभिचले प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै ‘विद्यार्थीहरूको जित भइरहेको’ बताए पनि भुचिचले पूर्ण रूपमा सत्ता नछोड्ने र पर्दा पछाडिबाट शक्ति अभ्यास गरिरहने आशंका आन्दोलनकारीहरूले व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *