सर्लाही, १५ असार । मलंगवा नगरपालिकाले २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव-२०८३ आज (सोमबार) उल्लासपूर्वक मनाएको छ ।

मलंगवा नगरपालिका-४ स्थित खेतमा आयोजित कार्यक्रममा नगरप्रमुख नागेन्द्र प्रसाद यादव, उपप्रमुख, किसान, महिला समूह, कृषि प्राविधिक तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।

सहभागीहरूले परम्परागत शैलीमा धान रोप्दै असार १५ को सांस्कृतिक तथा कृषि महत्वलाई उजागर गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख तथा जनप्रतिनिधिहरूले कृषिलाई नगरको आर्थिक समृद्धिको आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै किसानको उत्पादन वृद्धि, आधुनिक कृषि प्रविधिको प्रयोग तथा कृषि क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए ।

नेपालमा प्रत्येक वर्ष असार १५ गते राष्ट्रिय धान दिवस मनाउने परम्परा छ । यस दिन किसानहरू खेतमा धान रोपेर दहीऔचिउरा खाने चलन रहेको छ ।

धान रोपाइँको व्यस्ततापछि दही-चिउरा सेवन गर्दा शरीरमा शीतलता पुग्ने, थकान कम हुने तथा शक्ति सञ्चय हुने जनविश्वास रहिआएको छ ।

यस वर्ष समयमै मनसुन सक्रिय भएसँगै मलंगवासहित सर्लाहीका अधिकांश क्षेत्रमा धान रोपाइँले तीव्रता पाएको छ ।

राष्ट्रिय धान दिवसले कृषिप्रति सम्मान अभिवृद्धि गर्नुका साथै किसानलाई थप उत्साहित बनाउने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *