सर्लाही, १५ असार । विगतका वर्षको तुलनामा यस वर्ष समयमै वर्षा भएपछि मधेश प्रदेशका किसान उत्साहित भएका छन् । पर्याप्त पानी परेकाले धान रोपाइँले तीव्रता पाएको छ भने उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।

अघिल्ला वर्षहरूमा वर्षा अभावका कारण साउन-भदौसम्म रोपाइँ गर्न बाध्य भएका किसान यस वर्ष असारको सुरुआतदेखि नै खेतमा व्यस्त छन् ।

मलंगवा नगरपालिका-३ का किसान श्याम यादवले तीन बिघा जग्गामा धान रोपिसकेको र केही दिनमै सबै रोपाइँ सकिने बताए । बसबरिया गाउँपालिका-६ का किसान रामकिसुन साहले पनि यस वर्ष अधिकांश खेतमा समयमै रोपाइँ सम्पन्न भएको जानकारी दिए ।

सर्लाही, धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, रौतहट र पर्सालगायत जिल्लामा खेत तयारी, ब्याड उखेल्ने र धान रोप्ने काम एकैसाथ भइरहेको छ । मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असारको दोस्रो सातासम्म प्रदेशभर कुल खेतीयोग्य क्षेत्रफलको ४.३६ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

जिल्लागत विवरणअनुसार महोत्तरीमा सबैभन्दा बढी ८.१७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ । सप्तरीमा तीन हजार ४०० हेक्टर, बारामा तीन हजार २५०, धनुषामा तीन हजार ५९, सिरहामा दुई हजार ७०० र सर्लाहीमा एक हजार ३६ हेक्टर क्षेत्रमा धान रोपिएको मन्त्रालयले जनाएको छ ।

कृषि प्राविधिकका अनुसार असारभित्र रोपाइँ सम्पन्न गर्न सके उत्पादनमा सकारात्मक प्रभाव पर्नेछ । यस वर्ष किसानले उन्नत जातका बीउ प्रयोगसँगै रासायनिक तथा प्राङ्गारिक मलको उचित व्यवस्थापनमा पनि ध्यान दिएका छन् । यद्यपि केही स्थानमा मलको उपलब्धता र सिँचाइ पूर्वाधार अझै चुनौतीकै रूपमा रहेको किसानहरूको भनाइ छ ।

यसैबीच, प्रदेश सरकारले वर्षे धानबालीलाई लक्षित गर्दै आठवटै जिल्लाका १३६ स्थानीय तहका लागि सात हजार ३२८ मेट्रिकटन युरिया र छ हजार ६१० मेट्रिकटन डीएपी मल बाँडफाँट गरेको छ । मन्त्रालयका अनुसार स्थानीय तहमार्फत कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत किसानलाई मल उपलब्ध गराइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *