सर्लाही, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शासकीय सुधारका लागि संविधानका चार प्रमुख विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।
पार्टीको प्रथम महाधिवेशनबाट पारित सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनमार्फत संविधान संशोधनका मुख्य एजेण्डा सार्वजनिक गरिएको हो ।
प्रतिवेदनअनुसार पहिलो एजेण्डा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने रहेको छ ।
दोस्रो एजेण्डाअन्तर्गत हालको निर्वाचन प्रणालीको सट्टा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरी सबै समुदायको समुचित प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव गरिएको छ ।
तेस्रो एजेण्डामा राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञहरूको सभा बनाउने तथा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको सभाध्यक्ष बनाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
त्यसैगरी चौथो एजेण्डाका रूपमा प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना गर्ने विषय समावेश गरिएको छ।
रास्वपाले आवश्यक राजनीतिक समर्थन तथा संख्या पुगेपछि यी एजेण्डालाई कार्यान्वयन गर्न संविधान संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
