सर्लाही, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित गरेको छ । 

७-१२ असारसम्म चितवनमा चलेको प्रथम महाधिवेशनले ९९ केन्द्रीय सदस्यमा ५० जना महिला निर्वाचित गरेको हो । राजनीतिक विश्लेषकहरुका अनुसार चुनावै लडेर कुनै पनि पार्टीको कमिटीमा आधाभन्दा बढी महिला निर्वाचित भएको सम्भव त यो पहिलोपटक हो ।

नेपालको संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला अनिवार्य गरेको छ । रास्वपाले भने निर्वाचन प्रतिस्पर्धाबाटै ५० प्रतिशत बढी महिला सुनिश्चित गरेको छ ।

नेपालमा २००७ सालमा प्रजातन्त्र प्राप्तिपछि दलहरु खुलेयता कुनै पनि दलको केन्द्रीय कमिटीमा ५० प्रतिशत बढी महिला निर्वाचित भएको यो पहिलोपटक भएको इतिहासका जानकारहरु बताउँछन् । 

‘कुनै पनि दलको केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित भएको सम्भव त इतिहासमा यो पहिलो हो । ००७ सालको क्रान्ति होस् वा बहुदल प्राप्ति पछि पनि निकै कम सहभागिता रह्यो ।

संविधान निर्माणपछि पछिल्लो समय हेर्दा ३३ प्रतिशत बाध्यकारी बाहेक त्यो तहको उपस्थिति देखिँदैन,’ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरे भन्छन्, ‘यो अबको दलहरु वा राजनीतिमा महिलाहरु अझ विशेषगरी युवा महिलाको असाध्यै बलियो र शक्तिशाली हस्तक्षेप हो ।

अझ निर्वाचित नै भएर आउनु ठूलो कुरा हो । किनकि देशमा करिब ५१ प्रतिशत जनसंख्या महिला छन् । यसले राजनीतिमा महिला हस्तक्षेप सम्भव छ भन्ने देखाउँछ ।’

उपप्राध्यापक घिमिरे यो उपस्थितिले अन्य दललाई पनि परिवर्तनको सन्देश दिएको बताउँछन् । ‘महिलालाई आफ्नो दलभित्र सहज वातावरण नबनाइ अगाडि जान सकिँदैन भन्ने सन्देश यहाँ छ ।

जसरी माओवादी आन्दोलनमा महिलाहरु बन्दुक बोकेर गए । त्यसले राज्य संरचनामा परिवर्तन ल्यायो । पुरुषामात्रै भर्ना हुने नेपाली सेना रिफर्म गर्न बाध्य भयो ।

महिलाहरु भर्ना हुन थाले । त्यसैगरी अहिले रास्वपाको यो उपस्थितिले अरु दललाई पनि महिलामैत्री बन्न, महिलामैत्री नीति लिन र निर्वाचित हुने वातावरण बनाउने हिसाबले योगदान र संकेत गर्छ,’ उनी भन्छन् ।

घिमिरे राजनीतिमा प्रतिस्पर्धा गरेर बलियो उपस्थितिले महिलाहरु सामाजिक आर्थिक क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको देखिएको बताउँछन् ।

‘रास्वपाको केन्द्रीय समितिमा भएको प्रतिनिधित्व समग्र समाजको प्रतिनिधित्व हो । ५१ प्रतिशत जनसंख्या भएको महिलाहरु शिक्षामा, सामाजिक र आर्थिक क्षेत्रमा सक्षम भएको, समग्र क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको जस्तो लाग्छ,’ उनले भने । 

केन्द्रीय समितिमा निर्वाचित भएका ५० महिलामा सोविता गौतम, डा. तोसिमा कार्की, रञ्जु दर्शना, निशा डाँगी, इन्दिरा राना मगर, रिमा विश्वकर्मा, समीक्षा बास्कोटा, गीता चौधरी, लिमा अधिकारी आचार्य, प्रकृति ढकाल, टिका संग्रौला (ज्वाला), क्रान्तिशिखा धिताल, जमुना शर्मा, सुशिला कार्की पोख्रेल, आशिका तामाङ, अनुष्का श्रेष्ठ, निशा श्रेष्ठ, कुशुम महर्जन, करिष्मा कठरिया, जुली यादव, कामिनी कुमारी चौधरी, सविना विक, खिमा विक, समिना मिया, निशा मेहता, शोभा कार्की, कल्पना थापा, सुजाता तामाङ, सुस्मा बस्नेत, सुनिता कुमारी चौधरी, नमिता यादव, मञ्जु सिंह, प्रभा ढकाल, विदुषी राणा, आकांक्षा पोखरेल, अनिता श्रेष्ठ, पार्वती थापा, पवित्रा थापा, पुजा बास्तोला, विष्णु कुमारी गुरुङ (एकता), कल्पना पाण्डे, संगिता ढकाल, ज्ञानु पौड्याल, सर्मिला खनाल, सीता बादी, विनिता कठायत, टासी ल्हाङ्गजोम, मेनुका शाही, जानीका जोशी र चन्द्रा ऐर चाँदनी रहेका छन् ।

रास्वपाको कुल केन्द्रीय समिति भने १५८ सदस्य रहेको छ । जसको एकतिहाइ अर्थात ५३ जना महिला हुनुपर्ने विधानको व्यवस्था छ ।

रास्वपाले निर्वाचन ९९ सदस्यमै ५० जना महिला निर्वाचित गरेको छ । अब सभापतिले मनोनीत गर्ने ५१ जनाबाट पनि थुप्रै महिला आउनेछन् । 

रास्वपाको १९ सदस्यीय पदाधिकारीमध्ये निर्वाचन भएको ६ पदमा पनि उपसभापति र सहमहामन्त्री गरी २ जना निर्वाचित भएका छन् ।

सभापतिले मनोनीत गर्ने एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्तामा कम्तीमा चार जना महिला मनोनीत गरिने महामन्त्री विपीन आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *