सर्लाही, १८ असार । सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुरमा ५३ वर्षीय होस नारायण राय यादवको हत्या प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गर्दै घटना सार्वजनिक गरेको छ ।

पक्राउ परेका युवकले आफ्नै बुबा र भिनाजुलाई हत्या मुद्दामा फसाउने उद्देश्यले छिमेकीको हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार पत्रकार सम्मेलन गरी बसबरिया गाउँपालिका-१ मानपुर निवासी २५ वर्षीय सन्तोष कुमार रायलाई सार्वजनिक गरेको हो ।

गत असार ७ गते राति करिब १ः४५ बजे आफ्नै भैंसीगोठमा सुतिरहेका होस नारायण राय यादवमाथि धारिलो हतियार (हँसिया) प्रहार गरी हत्या गरिएको थियो। घाँटीमा गम्भीर चोट लागेका यादवलाई उपचारका लागि बरहथवा नगर अस्पताल पुर्‍याइए पनि बिहान करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले घटनास्थल नजिकै रहेको किराना पसलमा जडान गरिएको सीसीटीभी क्यामराको फुटेज, प्राविधिक प्रमाण, मृतकसँगै सुतेका १४ वर्षीय छोराको बयान तथा मधेश प्रदेश प्रहरी कार्यालयको के-९ शाखाको तालिमप्राप्त कुकुरको सहयोगबाट प्रमाण संकलन गरेको थियो ।

ती आधारमा सन्तोष कुमार रायमाथि शंका केन्द्रित भएपछि उनको खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

फरार रहेका रायलाई इलाका प्रहरी कार्यालय बरहथवाको टोलीले असार १६ गते बरहथवा नगरपालिका-७ स्थित बरहथवा बजार क्षेत्रबाट स्थानीयको सूचनाका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार घटनाको अघिल्लो दिन मोबाइल फोन किन्न बुबासँग पैसा माग्दा नपाएपछि परिवारमा विवाद भएको थियो । साथै बुबा र भिनाजुले बेला-बेलामा पैसा नदिने तथा सुधार केन्द्र पठाइदिने धम्की दिने गरेकाले उनीहरूप्रति रिस पलाएको अभियुक्तले प्रारम्भिक बयानमा स्वीकार गरेका छन् ।

सोही रिसको बदला लिन आफ्नै बुबा र भिनाजुलाई हत्या मुद्दामा फसाउने योजनासहित छिमेकी होस नारायण राय यादवको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि मानपुरबाट चोरी भएको ना. ४५ प २६८५ नम्बरको मोटरसाइकल प्रयोग गरी अभियुक्त घटनास्थलबाट फरार भएका थिए ।

उक्त मोटरसाइकल भोलिपल्ट असार ८ गते लालबन्दी नगरपालिका-२ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त मोटरसाइकल छिमेकी हरिन्द्र राम यादवको रहेको र अभियुक्तले चोरी गरी हत्या गर्न प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, हत्यामा प्रयोग गरिएको हँसिया बरहथवा नगरपालिका-१३ स्थित सडकछेउको खेतमा फालेको अभियुक्तको बयान रहेको र त्यसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्त यसअघि पनि खराब आचरणका कारण सुधार केन्द्रमा बसिसकेको अनुसन्धानबाट खुलेको छ ।

हाल सन्तोष कुमार रायविरुद्ध कर्तव्य ज्यान तथा चोरी सम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *