सर्लाही, १९ असार । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि पेट्रोलियम पदार्थको मूल्य घटेसंगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर बिहीबारदेखि नै लागू हुनेगरी दुई प्रतिशतले घटाएको छ ।
विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको छ ।
विभागले पछिल्लो पटक भाडादर समायोजन गर्दा भएको डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो । गत असार १७ गतेदेखि भने १९३ रुपैयाँ ८३ कायम भएकाले स्वचालित प्रणालीअनुसार नयाँ भाडा समायोजन गरिएको जनाएको छ ।
यस अघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरको निर्णयअनुसार सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतले वृद्धि गरेको थियो ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाएको जानकारी दिए ।
