सर्लाही, २० असार । सर्लाहीको गोडैता नगरपालिकाले नवनिर्मित गोडैता नगर अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आग्रह गरेको छ ।
शुक्रबार गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई मन्त्रालयमै भेटेर आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराइदिन आग्रह पत्र बुझाएका हुन् ।
नगर प्रमुख यादवले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्था गरिदिन मन्त्रालयसमक्ष अनुरोध गरेका थिए ।
आग्रह पत्र बुझ्दै मन्त्री मेहताले आवश्यक प्रक्रिया पूरा गरी केही समयभित्र अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने आश्वासन दिएको नगर प्रमुख यादवले नेपाल न्यूज बैंकसँग बताए ।
गोडैता नगरपालिकाको वडा नम्बर ३ सिमरा भगवतिपुरमा निर्माण सम्पन्न भएको १५ शैयाको गोडैता नगर अस्पताल गत असार १० गते उद्घाटन गरिएको थियो ।
अस्पताल सञ्चालनमा आएपछि नगरवासीले आफ्नै पालिकाबाट आधारभूत तथा प्राथमिक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारसँग निरन्तर समन्वय र पहल गरिरहेको जनाएको छ ।
