सर्लाही, २० असार । बितेका तीन दिन देशका धेरैजसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ ।
पछिल्लो १२ घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुर्य ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन ।
पछिल्लो ३ घण्टामा मकवानपुरको सिलिंगे, भक्तपुरको ताथली, खोटाङको ऐसेलुखर्क, प्यूठानको सेउलीबाङ लगायतका ठाउँमा २० मिलिमिटर भन्दा धेरै पानी परेको भएपनि देशका धेरै ठाउँमा पानी परेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राती भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
केही दिनदेखि पानी परिरहेको र मनसुन सक्रिय रहेको हुँदा कुनै ठाउँमा एक्कासि ठूलो पानी परेर विपदजन्य घटना हुन सक्ने भएकोले सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।
यो हप्ता धान रोपाइँ हुने गरी वर्षाको आशा रहेको भएपनि धेरै ठाउँमा रोपाइँ गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
