सर्लाही, २० असार । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) लाई सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता समस्याका सम्बन्धमा आवश्यक कार्य अघि बढाउन निर्देशन दिएको छ ।

गृह मन्त्रालयका शाखा अधिकृत आनन्द वंश न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा असार १७ गते गृहमन्त्रीको संयोजकत्वमा सुस्ता क्षेत्रका बासिन्दाका समस्याबारे भएको छलफल तथा असार १९ गतेको सचिवस्तरीय निर्णयअनुसार निर्देशन जारी गरिएको उल्लेख छ ।

पत्रअनुसार सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक स्थानमा थप सुरक्षाकर्मी परिचालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईएको छ ।

यस्तै, नागरिकता प्राप्त गर्न नसकेको गुनासो आएका स्थानीय बासिन्दाको विवरण संकलन गरी योग्य व्यक्तिको प्रोफाइल तयार गर्न र नागरिकता ऐन तथा नियमावलीबमोजिम प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउन प्रशासनलाई भनिएको छ ।

यदि विद्यमान कानुनी व्यवस्थाअनुसार नागरिकता दिन नमिल्ने अवस्था देखिएमा त्यसको आधार र कारण स्पष्ट खुलाएर नीतिगत निर्णयका लागि गृह मन्त्रालयमा पठाउन पनि निर्देशन दिइएको छ।

गृह मन्त्रालयको यो निर्देशनसँगै लामो समयदेखि उठ्दै आएको सुस्ता क्षेत्रको सुरक्षा र नागरिकता सम्बन्धी समस्या समाधानका लागि प्रशासनिक पहल तीव्र हुने अपेक्षा गरिएको छ ।

सुस्ताका विभिन्न समस्या लिएर सुस्ताबासी काठमाडौँमा आन्दोलनरत रहेका थिए । गृहमन्त्रालयमा भएको दुई पक्षीय छलफलपछि जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिईएको सुस्ताका स्थानीय सन्जित शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *