काठमाडौं, २३ असार ।  फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे र फ्रान्स फुटबल महासंघले विश्वकपबाट पाराग्वे बाहिरिएपछि एम्बाप्पेमाथि रंगभेदी टिप्पणी गर्ने पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाविरुद्ध कडा प्रतिक्रिया दिएका छन् ।

फ्रान्स फुटबल महासंघ (एफएफएफ)ले सोमबार अमारिल्लाविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सरकारी अभियोजन कार्यालयमा उजुरी दर्ता गर्ने घोषणा गरेको छ ।

त्यसअघि एम्बाप्पेले पनि सामाजिक सञ्जालमार्फत अमारिल्लाको अभिव्यक्तिको कडा शब्दमा विरोध गरेका थिए ।

विश्वकपमा फ्रान्सका कप्तान तथा टोलीका सर्वाधिक गोलकर्ता एम्बाप्पेले अमारिल्लालाई ‘घृणित महिला’ भन्दै उनको व्यवहार सार्वजनिक पदका लागि अयोग्य भएको बताएका छन् । यता एफएफएफले पनि उनको टिप्पणीलाई ‘पूर्ण रूपमा घृणित र अस्वीकार्य’ भनेको छ ।

पाराग्वे बाहिरिएपछि रंगभेदी टिप्पणी
फिलाडेल्फियामा शनिबार भएको अन्तिम–१६ को खेलमा एम्बाप्पेको पेनाल्टी गोलको मद्दतमा फ्रान्सले पाराग्वेलाई १–० ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

त्यसपछि अमारिल्लाले सामाजिक सञ्जाल एक्समा लामो टिप्पणी गर्दै एम्बाप्पेलाई लक्षित गरी रंगभेदी र अपमानजनक अभिव्यक्ति दिएकी थिइन् ।

उनले एम्बाप्पेको राष्ट्रिय पहिचानमाथि प्रश्न उठाउनुका साथै अपमानजनक शब्द प्रयोग गरेकी थिइन् । उनले पाराग्वेका खेलाडीहरूले खेलपछि एम्बाप्पेलाई थप्पड हान्नुपर्ने समेत लेखेकी थिइन् ।

एमबाप्पेले त्यसको जवाफमा आफू मात्र नभई पाराग्वेका खेलाडीहरूको पनि बचाउ गर्दै कडा प्रतिक्रिया दिएका छन् ।

‘सेलेस्टे अमारिल्ला, तपाईं घृणित महिला हुनुहुन्छ र आफ्नो पदका लागि योग्य हुनुहुन्न । तपाईंले प्रतियोगिताभर जुनून र सम्मानका साथ खेलेको पाराग्वेको प्रतिनिधित्व गर्नुहुन्न,’ एमबाप्पेले लेखेका छन् ।

उनले अमारिल्लाको गैरजिम्मेवार र खुला रंगभेदी अभिव्यक्तिले पाराग्वेका खेलाडीहरूले विश्वकपमा गरेको ऐतिहासिक प्रदर्शनलाई समेत ओझेलमा पारेको बताए ।

‘तपाईंजस्ता मानिसलाई संसारभर घृणा र रंगभेद फैलाउने स्वतन्त्रता म कहिल्यै दिन्नँ,’ उनले भने ।

एफएफएफले कानुनी कारबाही गर्ने
फ्रान्स फुटबल महासंघले एम्बाप्पे, फ्रान्सेली खेलाडी तथा यस्ता घृणित अभिव्यक्तिका सबै पीडितको साथमा रहेको जनाएको छ ।

महासंघले अमारिल्लाको टिप्पणीलाई आपराधिक र निन्दनीय भन्दै त्यसविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।

एफएफएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अभिव्यक्तिमाथि फ्रान्समा मात्र होइन, जहाँसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ । त्यसैले हामी अभियोजन कार्यालयमा उजुरी दर्ता गर्दैछौँ ।’

महासंघले फ्रान्सको राष्ट्रिय टोलीले देशको प्रतिनिधित्व गर्ने भएकाले यस्ता टिप्पणीले सम्पूर्ण फ्रान्सको अपमान गरेको पनि जनाएको छ ।

अब फ्रान्सले विश्वकपको क्वाटरफाइनलमा बिहीबार बोस्टनमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । फ्रान्सले सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने सन् २०२२ मा कतारमा भएको विश्वकपमा अर्जेन्टिनासँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *