सर्लाही, २३ असार । विगत दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना तथा आन्दोलन तत्कालका लागि स्थगित भएको छ ।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सरकारी प्रतिनिधि र आन्दोलनरत पक्षबीच भएको वार्तापछि सहमति जुटेसँगै आन्दोलनका कार्यक्रमहरू रोकिएका हुन् ।

सरकारले दृष्टिविहीन समुदायले उठाएका जायज मागहरूलाई अन्तरमन्त्रालय समन्वय मार्फत सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

मन्त्रालयमा भएको सहमतिअनुसार माइतीघर मण्डलामा सञ्चालन भइरहेको धर्ना कार्यक्रमलाई तत्काल स्थगित गरिएको छ। यसका साथै, सरकार र आन्दोलनरत पक्षबीच दृष्टिविहीन समुदायको दैनिक जीविकोपार्जनसँग जोडिएको महत्त्वपूर्ण विषयमा समेत सहमति जुटेको छ ।

दृष्टिविहीन समुदायका मुख्य मागहरू पूर्ण रूपमा सम्बोधन नभएसम्म र आगामी साउन मसान्तसम्मका लागि उनीहरूले सार्वजनिक स्थानमा गर्दै आएका कला, सांगीतिक प्रस्तुति एवं जीविकोपार्जनका अन्य गतिविधिहरूमा कुनै पनि प्रकारको रोकतोक वा अवरोध नगरिने निर्णय भएको छ ।

यस सहमतिसँगै दृष्टिविहीन व्यक्तिहरूले हाल सञ्चालन गरिरहेका स्थानहरूमै आफ्ना सांगीतिक तथा जीविकोपार्जनका गतिविधिहरू निर्वाध रूपमा निरन्तरता दिन पाउनेछन् ।

सरकारी पक्षबाट माग सम्बोधनका लागि सकारात्मक पहलकदमी सुरु भएको र सडकमा गीत गाएर गुजारा चलाउने कार्यमा तत्कालका लागि अवरोध हटेपछि दृष्टिविहीन समुदायले आन्दोलन फिर्ता लिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *