सर्लाही, २५ असार । कैलालीको टिकापुरस्थित इलाका प्रहरी कार्यालयबाट भागेका टीकापुर नगरपालिका–१ का ३१ वर्षीय संजय नगार्जी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनलाई अमरावतीबाट पक्राउ गरेको हो ।
भेष बदलेर मोटरसाइकल चलाइरहेको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोटरसाइकलसहित उनी समातिएका छन् ।
गत ८ गते करिब ९ ग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी आइतबार राति ड्युटीमा रहेका प्रहरी जवानलाई छक्याउँदै हिरासतबाट फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले हिरासतबाट भागेका नगार्जीको खोजी तीव्र पारिएको र खोजीकै क्रममा उनलाई फेला पारिएको बताए ।
घटनाको छानबिनका लागि डीएसपी तिमिल्सिनाकै संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो ।
