सर्लाही, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनसम्बन्धी आफ्नो औपचारिक दृष्टिकोण सार्वजनिक गर्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाले ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ शीर्षकको अवधारणापत्र आज सार्वजनिक गर्न लागेका हुन् ।
कांग्रेसले संविधान संशोधनबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न दिउँसो ३ बजे ललितपुरकाे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
कांग्रेसले संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न विज्ञ समिति गठन गरेको थियो । उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित विज्ञ समिति सदस्यमा वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सीताराम केसी, ललितकुमार बस्नेत तथा अधिवक्ताहरू रनबहादुर थेवे, शर्मिला श्रेष्ठ र झलमाया विक छन् ।
संविधान संसोधनको लागि बहसपत्र तयार गर्न सरकारले पनि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल बनाएको थियो । सो कार्यदलमा कांग्रेसले आफ्नो सदस्य पठाएको थिएन ।
उक्त कार्यदलमा रहेका राजनीतिक दलहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कार्यदल छाडेका छन् ।
