सर्लाही, २५ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गृहजिल्ला सर्लाहीमा दुई दिनसम्म सञ्चालन गरेको होटल तथा खाजा घर अनुगमनका क्रममा दुई दर्जनभन्दा बढी होटल तथा मिठाई पसललाई कारबाही गरिएको छ ।

मन्त्री महतोको नेतृत्वमा स्थानीय प्रशासन, नेपाल प्रहरी तथा प्राविधिक टोलीसहित मङ्गलबार र बुधबार लालबन्दी, हरिवन, नयाँरोड, बागमती, बरहथवा र सदरमुकाम मलंगवामा सञ्चालित होटल, खाजा घर तथा बर्गर हाउसहरूको अनुगमन गरिएको हो ।

टोलीले होटलका भान्साघरमै पुगेर खानाको गुणस्तर, सरसफाइ, प्रयोग भइरहेको खानेतेल, बिल–बिजक, व्यवसाय दर्ता तथा नवीकरणलगायतका विषयमा निरीक्षण गरेको थियो ।

अनुगमनका क्रममा चार दर्जनभन्दा बढी होटलको निरीक्षण गर्दा अधिकांश होटलमा गुणस्तरहीन तथा अस्वस्थकर खाद्य सामग्री प्रयोग गरिएको, खाना पकाउने स्थानमा सरसफाइको अभाव रहेको, पटक-पटक प्रयोग गरिएको खानेतेलमा खाना पकाइएको तथा म्याद नाघेका खाद्य पदार्थ बिक्री–वितरण भइरहेको भेटिएको मन्त्री महतोले जानकारी दिनुभयो ।

उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गतिविधि गरेको पाइएपछि दुई दर्जनभन्दा बढी होटल तथा मिठाई पसललाई नगद जरिवाना गरिएको छ ।

गुणस्तरहीन खाना बिक्री गर्ने, सरसफाइका मापदण्ड पालना नगर्ने तथा खराब तेल प्रयोग गर्ने होटलहरूबाट करिब पाँच लाख रुपैयाँ जरिवाना असुल गरिएको अनुगमन टोलीले जनाएको छ ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार व्यवसाय दर्ता नगरेका वा नवीकरण नगरेका होटल तथा खाजा घरलाई आवश्यक कागजात मिलाउन एकपटकका लागि सचेत गराएर छाडिएको छ ।

त्यस्तै, अस्वस्थकर तेल, अखाद्य खाद्य सामग्री तथा कुहिन थालेका तरकारी तत्काल नष्ट गर्न लगाइएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महतोले नागरिकको स्वास्थ्य सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनुभयो ।

होटलमा गुणस्तरीय र सुरक्षित खाना पाइने अपेक्षासहित पुग्ने सेवाग्राहीमाथि हुने लापरवाही कुनै पनि हालतमा स्वीकार्य नहुने उहाँको भनाइ थियो ।

मन्त्री महतोका अनुसार गम्भीर लापरवाही भेटिएका होटललाई एक लाख रुपैयाँसम्म जरिवाना गरिएको छ भने सरसफाइको कमी तथा म्याद नाघेका वस्तु फेला परेका होटललाई १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना गरी सुधारका लागि एकपटक अवसर दिइएको छ ।

आगामी अनुगमनमा पनि सरकारले तोकेको मापदण्ड पालना नगरेको वा अस्वस्थकर खाद्य सामग्री प्रयोग गरेको पाइए त्यस्ता होटल तथा खाजा घर सिल गरिने चेतावनी उहाँले दिनुभयो ।

मन्त्री महतोले मधेश प्रदेशमा अस्वस्थकर तथा अखाद्य खाद्य सामग्रीका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि होटल अनुगमनलाई तीव्र बनाइएको बताउनुभयो ।

सडेगलेका तथा गुणस्तरहीन खाद्य पदार्थको सेवनले क्यान्सरजस्ता घातक रोगसमेत लाग्न सक्ने भएकाले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि यस्तो अनुगमन अभियानलाई निरन्तरता दिइने उहाँले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *