सर्लाही, २५ असार । आफ्नो गाँस कटाएर र पसिना बगाएर सहकारीमा जम्मा गरेको रकम डुब्ने चिन्ताले पिरोलिरहेकाहरूका लागि लामो समयको अन्योल र निराशा चिर्न ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ ले आफ्नो सक्रियता तीव्र पारेको छ ।

पछिल्लो समय झण्डै साढे ४ करोडभन्दा बढी बचत फिर्ता भएको छ भने ठूला ऋणीहरूलाई कालोसूचीमा राख्नेदेखि राहदानी रोक्का गर्नेसम्मको तयारीले पीडितले ढिलै भए पनि मल्हमको मसुस गर्न थालेको बताएका छन् ।

समितिकी निमित्त सदस्य सचिव भावना पोखरेलले गत वैशाखदेखि असार १५ सम्म बचत फिर्ता, ऋण असुली र प्रणालीगत सुधारका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको बताइन् । यो बीचमा ४ करोड ४३ लाख ४८ हजार रूपैयाँ बराबरको बचत फिर्ता तथा मिलान भएको छ ।

समितिका अनुसार यस्तो छ ३ महिनाको प्रगति-

चत फिर्ता: १७५४ जना बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार फिर्ता।

बचत मिलान: १४१ जना बचतकर्ताको १ करोड ७९ लाख ५७ हजार मिलान।

ऋण असुली: १५४ जना ऋणीहरूबाट ४ करोड ३२ लाख ८२ हजार असुल।

वैशाख महिनामा ७७ ऋणीबाट ३ करोड ४० लाख ८ हजार ऋण रकम र ५९ बचतकर्ताको एक करोड ११ लाख ९७ हजार बचतमध्ये २९ लाख ९ हजार बचत मिलान गरी २ रोड ७ लाख ३७ हजार दाखिला भएको थियो ।

जेठ महिनामा ५३ ऋणीबाट एक करोड २७ लाख २७ हजार ऋण र ५३ बचतकर्ताको २३ लाख ८६ हजार बचतमध्ये १४ लाख ३५ हजार बचत मिलान गरी एक करोड २० लाख ४६ हजार दाखिला भएको छ ।

असारको १५ सम्म २४ ऋणीबाट २ करोड ३३ लाख १९ हजार ऋण र २९ बचतकर्ताको एक करोड ६४ लाख ३२ हजार बचतमध्ये एक करोड ३६ लाख १२ हजार बचत मिलान गरी ९४ लाख ९७ हजार दाखिला भएको तथ्यांक छ ।

कुन-कुन सहकारीका बचतकर्ताले पाए राहत ?

समितिले समस्याग्रस्त सहकारीका रुजु भएका मागदाबीमध्ये १० हजार रूपैयाँमुनिका रकम फरफारक गरिरहेको छ । बचत फिर्ता पाउने सहकारीहरूमध्ये सबैभन्दा बढी रकम तुलसी बहुमुखी सहकारीका १५८ जनाको २ करोड ५३ हजार रूपैयाँ छ । संख्याका आधारमा सबैभन्दा धेरै शिव शिखरकाको फिर्ता भएको छ ।

हेर्नुहोस् विवरण

सहकारीको नामलाभान्वित संख्याफिर्ता भएको रकम
तुलसी बहुमुखी सहकारी१५८ जना२ करोड ५३ हजार
शिव शिखर सहकारी८६९ जना३२ लाख ६६ हजार
श्री लालीगुँरास सहकारी३४९ जना११ लाख ६२ हजार
कान्तिपुर सेभिङ्ग२१५ जना९ लाख ८९ हजार
कृषि विकास बहुउद्देश्यीय८८ जना५ लाख १३ हजार
ओरेण्टल को-अपरेटिभ२३ जना१ लाख ४२ हजार
गोरखा सेभिङ२६ जना१ लाख ४० हजार

हाम्रो सगरमाथाका १३ जना बचतकर्ताले ४३ हजार, पशुपति सेभिङका ७ जनाले ४१ हजार र नागरिक कल्याण सहकारीका ६ जनाले ३७ हजार फिर्ता पाएका छन् । पोखरेलका अनुसार बचतकर्ता र ऋणीहरूको सहजताका लागि मिलान तथा फरफारकको संयुक्त निवेदन लिने काम भइरहेको छ ।

लुःनिभा बहुउद्देश्यीय सहकारी र नेपाल सहकारी वित्तीय संस्था लिमिटेडजस्ता सहकारीहरूसँग समस्या समाधानको कार्ययोजना माग गरी छलफल अघि बढाइएको छ । हाल पहिचान भएका २३ वटा समस्याग्रस्त सहकारीमध्ये ३ वटा सहकारीको हिसाब राफसाफ गरिएको छ ।

दोस्रो चरणमा २५ हजारसम्म फिर्ता गरिँदै

सदस्य सचिव रविन ढकालका अनुसार दोस्रो चरणमा ज्येष्ठ नागरिक, प्राणघातक रोग लागेका व्यक्ति र एकल महिलालाई प्राथमिकता दिएर बचत फिर्ता गर्ने तयारी भइरहेको छ ।

उनले भने, ‘१० हजारसम्मको बचत फिर्तालाई हामीले उच्च प्राथमिकता दिएर फिर्ता गर्‍यौँ । अब दोस्रो चरणमा बचत फिर्ता कार्य थाल्दैछौँ ।’

पीडितहरूलाई कुल बचतको बढीमा आधा ५० प्रतिशतसम्म रकम फिर्ता दिइनेछ । यसको सुरुवातमा बचतको बढीमा २५ हजार रूपैयाँसम्म दिने गरी तयारी थालिएको सदस्य सचिव ढकालले जानकारी दिए ।

‘दोस्रो चरणमा प्राथमिकतामा परेका बचतकर्तालाई शुरुमा बढीमा २५ हजार रूपैयाँसम्म दिन्छौँ । त्यसभन्दा कम बचत हुनेहरूलाई १२ हजार ५ सय रूपैयाँ दिने गरेर हामीले तयारी थालेका छौँ’, उनले भने ।

बचत रकम फिर्ता गराउन र सहकारी क्षेत्रको बेथिति सुधार्न कार्ययोजना बनाएर अघि बढिरहेको समितिका अधिकारी बताउँछन् । सहकारीका मार्टहरूको सम्पत्ति व्यवस्थापन गर्नेदेखि नियन्त्रणमा लिइएका सवारी साधनहरूलाई लिलामको प्रक्रिया पनि सुरू गरिएको छ ।

ठूला ऋणी, सञ्चालक, व्यवस्थापक र जिम्मेवार कर्मचारीहरूको पहिचान गरी उनीहरूलाई कालोसूचीमा समावेश गर्न कर्जा सूचना केन्द्रमा पत्राचार गर्ने भएको छ । साथै उनीहरूको राहदानी रोक्का गर्न र स्थानीय तहबाट प्रवाह हुने सेवा सुविधाहरूमा रोक लगाउन सम्बन्धित निकायहरूमा पत्राचार कार्यलाई थप प्रभावकारी बनाइने भएको छ ।

नेपाल बाहिर विदेशमा रहेका ऋणीहरूसँग ह्वाट्सएप लगायत भर्चुअल माध्यमबाट सम्पर्क गरी असुलीको ताकेता गरिने समितिले जनाएको छ । हाल साना ऋणीहरू समितिको सम्पर्कमा आउने क्रम जारी रहे पनि ठूला ऋणीहरु भने सम्पर्कमा आएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *