सर्लाही, २६ असार । बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा भइरहेको चरम ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले गम्भीर आपत्ति जनाएको छ ।
वर्षौंदेखि निर्माण कार्य अलपत्र पर्दा स्थानीय नागरिकले धुलो, हिलो र जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको भन्दै रास्वपाले पूर्वाधार विकास कार्यालय, डडेलधुरालाई ज्ञापनपत्र बुझाउँदै तत्काल निर्माण कार्यलाई तीव्रता दिन माग गरेको हो ।
रास्वपा डोटीका जिल्ला सह–सचिव तथा संगठन विभाग प्रमुख डिल्ली राज भट्टले पूर्वाधार विकास कार्यालयका प्रमुखलाई ज्ञापनपत्र हस्तान्तरण गर्दै सडक निर्माणमा भइरहेको ढिलासुस्तीले स्थानीय नागरिकको दैनिक जनजीवन, शिक्षा, स्वास्थ्य र व्यापारिक गतिविधिमा गम्भीर असर पु¥याएको बताएका छन् ।
ज्ञापनपत्रमा २०७१ सालमा यसै सडकखण्डमा भएको दुखद् बस दुर्घटनाको स्मरण गर्दै सुरक्षित र गुणस्तरीय सडक नहुँदा स्थानीय बासिन्दा अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको उल्लेख गरिएको छ ।
निर्माण कार्यको पछिल्लो अवस्थाबारे जानकारी दिँदै रास्वपाले दुवै आयोजनाको कार्य प्रगति अत्यन्त सुस्त रहेको औंल्याएको छ ।
राजेन्द्र–शर्मा जेभीसँग २०७७ असार ३० गते सम्झौता भएको पहिलो आयोजनाको म्याद २०८२ पुस २९ सम्म थपिएको छ भने हालसम्म ४३.९१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सो आयोजना सम्पन्न गर्न थप १७ करोड रुपैयाँ आवश्यक रहेको देखिएको छ ।
त्यसैगरी, २०७८ असार १५ गते सम्झौता भएको केएस कन्स्ट्रक्सन प्रालिको दोस्रो आयोजनाको म्याद २०८३ चैत ३० सम्म पु¥याइए पनि हालसम्म ५१.९८ प्रतिशत मात्र प्रगति भएको छ र उक्त कार्यका लागि थप ६ करोड ५० लाख रुपैयाँ आवश्यक देखिएको छ ।
रास्वपाले निर्माण कार्यमा भइरहेको ढिलाइको वास्तविक कारण सार्वजनिक गर्न र तोकिएको समयसीमाभित्र आयोजना सम्पन्न गर्न सम्बन्धित निकायलाई जोडदार आग्रह गरेको छ ।
कुनै पनि पक्षलाई दोषारोपण गर्ने आफ्नो उद्देश्य नरहेको स्पष्ट पार्दै रास्वपाले नागरिकको सुरक्षा र जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्माण अवधिभर सुरक्षित आवागमनको सुनिश्चितता गर्न भट्टले जारी गरेको विज्ञप्तिमा माग गरिएको छ ।
वर्तमान सरकारको सुशासन र जवाफदेहिताको नीतिअनुसार यस आयोजनालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न रास्वपाले पूर्वाधार विकास कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ ।
यस्तै रास्वपाका डोटी जिल्ला सभापति केशव बलायरले डोटीका सबै सडक निर्माणमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए ।
’हाम्रो जिल्ला त्यसै पनि विकासका दृष्टिकोणले पछाडि छ। सडक सञ्जालको सहज पहुँच नहुँदा डोटीवासीले थप सास्ति खेपिरहनु भएको छ । यहाँका उत्पादनले राम्रो बजार पाउन सकेका छैनन्। त्यसैले सम्बन्धित निकायले लापहबाही नगरोस्,’ उनले भने ।
ज्ञापनपत्र बुझ्दै पूर्वाधार विकास कार्यालय, डडेलधुराका प्रमुख नवराज रावलले आफूहरू सडक निर्माणका विषयमा गम्भीर रहेको बताएका छन् । उनले हालसम्म सडकको वित्तीय प्रगति ४४ प्रतिशत रहेकोमा भौतिक प्रगति ५० प्रतिशत हाराहारी रहेको बताएका छन् ।
निर्माण कम्पनिलाई तालिकाअनुसार काम सक्न निर्देशन दिँदै आएकोमा उनीहरूको लापरबाहीका कारण अपेक्षित रुपमा प्रगति हासिल गर्न नसकिएको उनको स्वीकारोक्ति छ। उनले अहिले जरिवाना लगाएर काम अगाडि बढाइएको बताएका छन् ।
