सर्लाही, २७ असार । सर्लाहीको पर्सा गाउँपालिकामा शुक्रबार मध्यान्ह राँगाले हानेर मोटरसाइकल पछाडि सवार एकजना महिलाको मृत्यु भएको छ ।
जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका –१, शितलपुरमा श्रीमान र छोरीसँगै मोटरसाइकल चढेर हुलाकी सडक हुँदै महोत्तरीतर्फ जानेक्रममा राँगाले हान्दा सर्लाहीकै हरिपुर्वा नगरपालिका –४, डुमरियाका ४० वर्षीया पुनमकुमारी साहको मृत्यु भएको हो ।
उहाँ श्रीमान सत्यनारायण साहले चलाइरहेको प्रदेश २–०२–००४ प ४१६२ नम्वरको मोटरसाइकलमा सवार हुनुहुन्थ्यो । यात्रा गरिरहेका बेला सडकमा हिडिँरहेको राँगाले हान्दा पुनमदेवी उछिट्टिएर भुइँमा लडेको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनापछि उहाँलाई उपचारका लागि महोत्तरीतर्फको एक अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो । मृतक महिलाको शव महोत्तरीको अस्पतालमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय सङ्ग्रामपुरका अनुसार दुर्घटनामा परेका मोटरसाइकल चालक एवं मृतकको श्रीमान सत्यनारायण र नौ वर्षिया छोरी बन्दनाकुमारी साह भने सुरक्षित रहेका छन् । दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको डिएसपी गौतमले बताउनुभयो ।
