सर्लाही, २७ असार । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवाका लागि गृह मन्त्रालयले हटलाइन सेवा सबै जिल्लामा विस्तार गरेको छ। 

विपदमा हुने उद्धारलाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको हो ।

मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै हटलाइन सेवा सञ्चालन गर्दै आएको थियो। अब विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट १२३४ मा गरिएको फोन राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, सिंहदरबारमा पुग्नेछ ।

देशका अन्य ७४ जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा स्वतः ‘राउटिङ’ हुने व्यवस्था मिलाइएको छ ।

मन्त्रालयका अनुसार विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि नागरिकले अब आफ्नै जिल्लाको आपत्कालीन केन्द्रसँग प्रत्यक्ष सम्पर्क गर्नसक्ने भएकाले उद्धार, समन्वय र सेवा प्रवाह अझ प्रभावकारी हुने छ ।

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधार कार्यसूचीअनुसार नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्दै नागरिक सेवालाई परिणाममुखी, जवाफदेही र प्रभावकारी बनाउने नीति लिएको थियो । 

सोही नीतिअनुसार सबै ७७ जिल्लाका आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विपद्को समयमा नेपाल सरकारबाट जारी हुने आधिकारिक सूचना तथा पूर्वसूचनाको पालना गर्न र आवश्यक परे १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई आग्रह गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *