सर्लाही, २८ असार । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । अबदेखि मोबाइल वा ‘वेब एप्लिकेसन’ (एप) बाटै खाता बन्द गर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता घटाउने कार्ययोजना नै बनाउन भनेको छ । ग्राहकले उपस्थित भई वा प्रविधिमार्फत खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको रकम निजले चाहेको अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यसैगरी, ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट ग्राहक पहिचान गरी आफ्नो निष्कृय खाता सहज रूपमा पुनः सक्रिय गर्न सक्ने व्यवस्था समेत मिलाउनुपर्नेछ ।

केन्द्रीय बैंकले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई आफूसँग रहेका निष्कृय खाताहरू न्यून गर्नका लागि विशेष कार्ययोजना बनाई २०८३ साल पुस मसान्तसम्ममा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनुपूर्व कल, एसएमएस र इमेल लगायत माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनुपर्ने छ ।

साथै, निष्कृय भइसकेका खाताहरू पुनः सक्रिय गराउनका लागि कम्तिमा ६ महिनाको अन्तरालमा ग्राहकलाई अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख समेत राख्नुपर्ने व्यवस्था गरिएको छ । प्रविधिको दुरुपयोग र वित्तीय अपराध रोक्न राष्ट्र बैंकले थप कडाइ गरेको छ ।

बैंक तथा वित्तीय संस्थाको नेपालभरिका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहज खाता पुन: सक्रिय गर्न सक्ने व्यवस्था गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय भई पुन: सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबार निगरानी गर्ने प्रणाली विकास गर्नसमेत केन्द्रीय बैकले व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *