सर्लाही, २९ असार । आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएर ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवार ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेका छन् ।

प्राप्त जानकारीअनुसार मृतक नेपालीको परिवारले काठमाडौं महानगरपालिका र खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर जाहेरी लेखाउँदैछन् ।

त्यहाँका डीएसपी नरेशकुमार सिंहका अनुसार कुन मुद्दामा कसलाई प्रतिवादी बनाउने भन्नेबारेमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै त्यहाँ पुगेका थिए ।

कानुन व्यवसायीहरूको सल्लाहबमोजिम ज्यानसम्बन्धी कसुरमा जाहेरी लेखाउन उनीहरु लेखापढी व्यवसायीकहाँ पुगेको उनले बताए ।

‘हामीकहाँ जाहेरी आइपुगेको छैन, लेखाउन जानुभएको छ’, उनले भने, ‘जाहेरी आएपछि दर्ता हुने, नहुने वा प्रतिवादी कसलाई र के आधारमा बनाइएको भन्ने विषयमा केही जानकारी छैन ।’

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेटमा नेपालीले मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाबाट खटिएका प्रहरीले ह्वील लक लगाएको थियो ।

त्यसपछि ती प्रहरीसँग उनको विवाद भयो । गणेशले केहीबेरमा मोटरसाइकलको ट्यांकीबाट पेट्रोल झिकेर शरीरमा खन्याएका थिए । र, आफैँले आफ्नो शरीरमा आगो लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *