काठमाडौं, ३० असार । फिफा विश्वकप २०२६ अन्तिम चरणमा आइपुगेको छ । ४८ सहभागि टोली भएको यस विश्वकपको विस्तारित ढाँचामा अब केवल चार टोलीमात्र उपाधिको प्रतिस्पर्धामा छन् ।

आज र भोलि मध्यरातमा हुने दुई सेमिफाइनको खेलपछि फाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ। ३९ दिन चल्ने विश्वकप अन्तिमतिर आइपुग्दा अब विजेता टोलीले तथा अन्य टोलीले कति पुरस्कार प्राप्त गर्नेछन् भन्ने चासो पनि बढेको छ ।

जारी विश्वकपको कुल पुरस्कार राशि इतिहासकै सबैभन्दा ठूलो हुनेछ। यस संस्करणका लागि फिफाले कुल ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब ३३ अर्ब ७७ करोड रुपैयाँ) पुरस्कार छुट्याएको छ ।

यसअघि फिफाले पुरस्कार राशि ७२७ मिलियन डलर हुने घोषणा गरेको थियो, जुन २०२२ को कतार विश्वकपको तुलनामा ५० प्रतिशत बढी थियो ।

तर अप्रिलमा फिफाले तयारी भत्ता र आधारभूत सहभागिता रकम बढाउँदै कुल पुरस्कार राशि ८७१ मिलियन डलरसम्म पुर्‍याएको हो ।

विजेताले पाउनेछ ५० मिलियन डलर

प्रतियोगितामा टोलीले जति अगाडि बढ्छ, त्यति धेरै पुरस्कार प्राप्त गर्नेछ । फिफाले स्थानअनुसार पुरस्कार यसरी निर्धारण गरेको छः

विजेता – ५० मिलियन डलर (७ अर्ब ६६ करोड ५० लाख)
उपविजेता – ३३ मिलियन डलर (५ अर्ब ५ करोड ८९ लाख)
तेस्रो स्थान – २९ मिलियन डलर (४ अर्ब ४४ करोड ५७ लाख)
चौथो स्थान – २७ मिलियन डलर (४ अर्ब १३ करोड ९१ लाख)
पाँचौँदेखि आठौँ स्थान – १९ मिलियन डलर (२ अर्ब ९१ करोड २७ लाख)
नवौँदेखि १६औँ स्थान – १५ मिलियन डलर (२ अर्ब २९ करोड ९५ लाख)
१७औँदेखि ३२औँ स्थान – ११ मिलियन डलर (१ अर्ब ६८ करोड ६३ लाख)
३३औँदेखि ४८औँ स्थान – ९ मिलियन डलर (१ अर्ब ३७ करोड ९७ लाख)

यी प्रदर्शनमा आधारित पुरस्कारका लागि मात्रै ७०३ मिलियन डलर (करिब १ खर्ब ७ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ) छुट्याइएको छ ।

हरेक टोलीलाई न्यूनतम १२.५ मिलियन डलर सुनिश्चित

कुल पुरस्कारमध्ये बाँकी १६८ मिलियन डलर (करिब २५ अर्ब ७५ करोड ४४ लाख रुपैयाँ) सबै ४८ टोलीलाई उनीहरूको प्रदर्शनको आधारमा नभई समान रूपमा वितरण गरिनेछ।

यसअन्तर्गत प्रत्येक टोलीले २.५ मिलियन डलर (करिब ३८ करोड ३९ लाख ६४ हजार रुपैयाँ) तयारी खर्च (प्रिपरेशन मनी) १६८ मिलियन डलरबाट बराबरी बाँडफाँट हुने अतिरिक्त टोली सहयोग रकम प्राप्त गर्नेछ।

यसरी समूह चरणमै बाहिरिए पनि प्रत्येक टोलीले कम्तीमा १२.५ मिलियन डलर (करिब १ अर्ब ९१ करोड ६२ लाख ५० हजार रुपैयाँ) पाउने सुनिश्चित छ। यसमा न्यूनतम १० मिलियन डलरको सहभागिता शुल्क र २.५ मिलियन डलरको तयारी भत्ता समावेश छ।

फिफाका अनुसार तयारी भत्ता प्रशिक्षण शिविर, यात्रा तथा प्रतियोगिताअघिका आवश्यक खर्चका लागि प्रयोग गरिनेछ।

त्यस्तै अतिरिक्त सहयोग रकम टोलीको भ्रमण, व्यवस्थापन, प्रशासनिक खर्च तथा टिकट व्यवस्थापनमा आर्थिक असमानता घटाउने उद्देश्यले उपलब्ध गराइनेछ।

१९ जुलाईमा विश्वले २३ औं संस्करणको फिफा विश्वकपको विजेता पाउनेछ। यसपटक सेमिफाइनलमा पुगेका चारै टोली फ्रान्स, स्पेन, अर्जेन्टिना र इङ्ल्यान्डले यसअघि पनि उपाधि जितिसकेकाले नयाँ विजेता पाउने सम्भावना समाप्त भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *