सर्लाही, ३० असार । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ ।

गत शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको अवस्थामा निधन भएको हो ।

मण्डलले घरबाट करिब २ सय मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए । घटनामा उनको शरीरको अधिकांश भाग जलेको थियाे ।

गम्भीर घाइते भएका उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी ओम अधिकारीका अनुसार, प्रारम्भिक अनुसन्धानबाट घरपरिवारसँगको विवादपछि उनले आत्मदाहको प्रयास गरेको खुलेको छ । घटना हुँदा घरमा अन्य परिवारका सदस्य नरहेको पनि प्रहरीले जनाएको थियाे ।

घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत मण्डललाई तत्काल उपचारका लागि काठमाडौं लैजाने व्यवस्था गरिएको जानकारी गराएका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *