सर्लाही, ३० असार । मिडिया हाउसअगाडि अनाधिकृत राखिएका १४ वटा गाडीका चालकलाई जरिवाना गरिएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सडकमा जथाभावी सवारी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका विभिन्न १४ वटा सवारी साधनहरुलाई प्रचलित कानुन बमोजिम कारबाही गरिएको जनाएको छ । 

ट्राफिक प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले प्रचलित कानुनबमोजिम जरिवाना गरेर गाडीहरु छोडिएको बताए । ‘अनाधिकृत तरिकाले सार्वजनिक सडकमा जथाभावी पार्किङ गरी ट्राफिक व्यवस्थापनमा अवरोध पुर्याएका १४ वटा सवारीका चालकलाई जरिवाना गरेर छोडेका छौं । यो नियमित प्रक्रिया हो,’ उनले भने । उनकाअनुसार सबै चालकलाई पाँच सय रुपैयाँका दरले जरिवाना गरिएको हो ।

आइतबार तीन वटा मिडिया हाउस कान्तिपुर, हिमालय टेलिभिजन र अनलाइन खबरको मुलगेटमा विभिन्न गाडीहरु शंकास्पद तरिकाले पार्किङ गरेको पाइएको थियो । घण्टौंसम्म प्रतीक्षा गर्दा पनि ती गाडी लिन कोही आएनन् । पछि ट्राफिक प्रहरीले क्रेनमार्फत उठाएर बग्गीखाना लगेको थियो । 

कांग्रेसका सभापति गगन थापाको घरको गेटअगाडि पनि बेवारिसे अवस्थामा सवारी साधन पार्किङ गरिएको थियो । छापामार शैलीमा गाडीहरु मिडिया हाउसअगाडि पार्किङ गरिएपछि चौतर्फी विरोध भएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *