काठमाडौं, ३१ असार । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।
उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली पूर्ण रूपमा तयार रहेको र लगातार दोस्रो विश्वकप उपाधितर्फ अर्को कदम चाल्ने लक्ष्य रहेको स्पष्ट पारे । अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । यस खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
खेलअघिको पत्रकार सम्मेलनमा स्कालोनीले लगातार ६ खेल जितेर सेमिफाइनल पुगेको टोलीको प्रदर्शनलाई कमजोर भन्न नमिल्ने बताए । उनले भने,‘टोलीले मानिसहरूले भनेजस्तो खराब खेलेको छैन । हामी यहाँसम्म आइपुगेका छौं भने अवश्य पनि केही सही गरेका छौं ।’
स्कालोनीले आफ्ना खेलाडीहरूको प्रशंसा गर्दै उनीहरूले अर्जेन्टिनालाई पछिल्ला केही वर्षमा लगातार सफलताको उचाइमा पु¥याएको बताए । उनले भने,‘म आफ्ना खेलाडीहरूप्रति आभारी छु । उनीहरूले हामीलाई तीनवटा उपाधि दिलाएका छन् र अहिले फेरि विश्वकपको सेमिफाइनलमा पु¥याएका छन् । अब हामी फाइनलबाट केवल एक कदम टाढा छौं र त्यसका लागि सबै शक्ति लगाउनेछौ ।’
समूह चरणमा अल्जेरिया, अस्ट्रिया र जोर्डनलाई पराजित गर्दै समूह विजेता बनेको अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट र स्विट्जरल्यान्डलाई हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । केप भर्डे र स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयसम्म खेल्नुपरेको अर्जेन्टिनाले इजिप्टविरुद्ध २–० ले पछि परेको अवस्था उल्टाउँदै रोमाञ्चक जित निकालेको थियो ।
स्कालोनीले विश्वकपको यो चरणमा खेल शैलीभन्दा नतिजा महत्वपूर्ण हुने बताए । उनले भने, ‘एक महिनाअघि कसैले जसरी भए पनि विश्वकपको सेमिफाइनल पुग्ने अवसर दिन्छ भने म तुरुन्त स्वीकार्थें । अहिले हामी सेमिफाइनलमा छौं, त्यसैले टोली कुन अवस्थामा छ भन्नेभन्दा जित महत्वपूर्ण हो ।’
उनका अनुसार टोली शारीरिक रूपमा थकित भए वा नभए पनि त्यसले कुनै फरक नपर्ने र सबै खेलाडी सेमिफाइनलका लागि उत्साहित तथा तयार छन् । यो अर्जेन्टिनाको लगातार चौथो विश्वकप सेमिफाइनल हुनेछ । अर्जेन्टिना यसअघि २०१४, २०१८ र २०२२ को विश्वकपमा पनि अन्तिम चारमा पुगेको थियो । साथै स्कालोनीको नेतृत्वमा टोलीले २०२१ र २०२४ मा कोपा अमेरिका तथा २०२२ मा विश्वकपको उपाधि जितिसकेको छ ।
इंग्ल्यान्डविरुद्धको खेललाई लिएर १९८२ को फकल्याण्ड युद्धको प्रसंग उठाइए पनि स्कालोनीले त्यसलाई फुटबलसँग जोड्न नहुने स्पष्ट पारे । उनले भने,‘त्यो हाम्रो इतिहासको अत्यन्त दुःखद अध्याय हो । त्यसको सम्मान गर्नुपर्छ, तर यो एउटा फुटबल खेल मात्र हो । युद्ध र खेललाई मिसाउनु उचित हुँदैन ।’
यता इंग्ल्यान्डले क्वार्टरफाइनलमा अतिरिक्त समयमा नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । प्रशिक्षक थोमस टुचेलको टोली सन् १९६६ पछि पहिलो पटक विश्वकपको फाइनल पुग्ने लक्ष्यमा रहेको छ भने अर्जेन्टिना लगातार विश्वकप जित निकाल्दै उपाधि रक्षा अभियानलाई अझ मजबुत बनाउन चाहन्छ ।
