सर्लाही, ३१ असार । काठमाडाैं उपत्यकासहित २२ वटा जिल्लामा बुधबार आकस्मिक बाढीको मध्यम जोखिम रहेकाे छ ।

बाढी पूर्वानुमान महाशाखाले बुधबार काठमाडाैं, भक्तपुर र ललितपुरसहित देशका २२ जिल्लामा बाढीको मध्यम जोखिम रहेकाे जनाएकाे हाे । बुधबार बिहानको मापन अनुसार मुख्य नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै सहायक नदीमा जल सतहको अवस्था सामान्य छ । त्यसैगरी कनकाई, कमला, बबई, पूर्वी राप्ती र पश्चिमराप्ती नदीमा पनि पानीको बहाव शतर्कता तह भन्दा तलै रहेकाे छ।

उपत्यकासहित बुधबार पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, लमजुङ, कास्की, नवलपरासीपूर्व र पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र ती आसपासका जिल्ला भएर बहने स–साना नदीमा बहाव उल्लेख्य बढेर आकस्मिक बाढी आउन सक्ने अनुमान गरिएकाे हाे।

यी जिल्लाको नदी किनारका बासिन्दालाई शतर्क रहन आग्रह गरिएको छ । बुधबार मधेशसहित ५ वटा प्रदेशमा वर्षाको सम्भावना रहेकाे हाे। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेश प्रदेशको तराई भागको केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार राति कोशी प्रदेशको पहाडी साथै कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान महाशाखाले गरेकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *