सर्लाही, ३२ असार । चालु आर्थिक वर्ष २०८२/८३ सकिन एक दिन मात्रै बाँकी रहँदा सरकारले कुल लक्ष्यको झण्डै ८३ प्रतिशत राजश्व सङ्कलन गरेको छ ।
महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार ३१ गते हिजो सम्ममा सरकारले कुल १२ खर्ब २४ अर्ब ८० करोड ९० लाख रुपैयाँ राजश्व उठाएको हो ।
यो सङ्कलन सरकारले चालु वर्षका लागि तय गरेको कुल १४ खर्ब ८० अर्ब रुपैयाँको वार्षिक लक्ष्यको ८२.७६ प्रतिशत हुन आउँछ । विगतको तुलनामा यस वर्ष राजश्व सङ्कलनमा सुधार देखिएको छ ।
गएको आर्थिक वर्ष २०८१/८२ को असार ३१ गतेसम्म सरकारले ११ खर्ब ४० अर्ब ३६ करोड ६१ लाख रुपैयाँ मात्र राजश्व सङ्कलन गर्न सकेको थियो ।
यस हिसाबले गएको वर्षको यही अवधिको तुलनामा यसपालि ८४ अर्ब ४४ करोड २९ लाख रुपैयाँले बढेको कार्यालयले जनाएको छ ।
हिजोसम्म ११ खर्ब ५ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ कर राजश्व सङ्कलन भएको छ ।
जुन लक्ष्यको ८३.४३ प्रतिशत हो । त्यस्तै गैरकर राजश्वतर्फ १ खर्ब १८ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
यो कुल गैरकर राजश्व लक्ष्यको ७६.९९ प्रतिशत हो । गएको वर्षको तुलनामा यस वर्ष कर राजश्व ७.३४ प्रतिशत र गैरकर राजश्व ८.०२ प्रतिशतले बढेको देखिन्छ ।
त्यसै गरी अनुदान प्राप्तिको अवस्थामा पनि यस वर्ष उल्लेख्य सुधार आएको छ । चालु वर्षमा सरकारले कुल ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असार ३१ गतेसम्म ५८.५ प्रतिशत अर्थात् ३१ अर्ब २६ करोड ४१ लाख रुपैयाँ प्राप्त भएको छ ।
यो गएको वर्षको तुलनामा ३४.७५ प्रतिशतले बढी हो । गएको वर्ष यसै अवधिसम्म सरकारले जम्मा २३ अर्ब २० करोड १६ लाख रुपैयाँ अनुदान प्राप्त गरेको थियो ।
आर्थिक वर्षको अन्तिमतिर राजश्व सङ्कलन तीव्र हुने परम्पराअनुसार हिजो एकै दिन मात्रै सरकारले २१ अर्ब १६ करोड ९२ लाख रुपैयाँ राजश्व उठाएको छ ।
जसमा १८ अर्ब ६६ करोड ७९ लाख रुपैयाँ कर राजश्व रहेको छ । आज आर्थिक वर्षको अन्तिम दिन भएकाले थप राजश्व सङ्कलन भई कुल सङ्कलनको दर अझै बढ्ने अनुमान गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
