सर्लाही, ३२ असार । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको नीति परिवर्तन गरेको छ । आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले कम्पनीहरूको वित्तीय स्थिति, पर्फमेन्सका आधारमा शेयर धितो कर्जाको सुविधा प्रदान गर्ने बताएको थियो ।
सोही व्यवस्था बमोजिम बैंकले हालै एक निर्देशन जारी गर्दै कम्पनीहरूको आकार, क्षमता र व्यवस्थापन मापदण्डका आधारमा ८० प्रतिशतसम्म शेयर धितो कर्जा दिन सकिने बताएको हो ।
इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई जारी एकीकृत निर्देशन, २०८२ मा संशोधन, परिमार्जन गर्दै केन्द्रीय बैंकले भनेको छ, ‘शेयर धितो कर्जाको हकमा सुरक्षणवापत राखिने शेयरको मूल्याङ्कन गर्दा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म मात्र शेयर धितो कर्जा प्रवाह गर्न सकिनेछ ।’
यसअघि सोही व्यवस्था रहेकोमा एकपटक प्रवाह गरिसकेको यस्तो कर्जाको सुरक्षणमा रहेको शेयरको पुनर्मूल्यांकन गरी सोको आधारमा थप कर्जा सीमा कायम गर्न वा थप कर्जा प्रदान गर्न नपाइने व्यवस्था थियो ।
तर, केन्द्रीय बैंकले हाल यो व्यवस्थामा संशोधन गर्दै कम्पनीको चुक्ता पुँजी, सबलता र व्यवस्थापनका आधारमा बढीमा १० प्रतिशत विन्दुसम्म थप कर्जा प्रदान गर्न सकिने बताएको छ ।
यस्तो आधार कम्पनीको चुक्ता पुँजीके आकार, धितोपत्र सूचीकरण भएको न्यूनतम अवधि, नाफा रहेको तथा लाभांश वितरण गरेको अवस्था र समयावधि, क्रेडिट रेटिङ्ग, नियामकीय व्यवस्थाको पालना र नियमित साधारणसभा सम्पन्न भए नभएको हेरिने केन्द्रीय बैंकले जनाएको छ ।
