सर्लाही, ०१ साउन । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो देशबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालको सिमानासम्म ढुवानी गर्ने प्रक्रियामा आजदेखि कोलकाता–विराटनगर कार्गो रेल सेवा ढुवानी शुरू भएको छ ।
नेपाल–भारत पारवहन सम्झौताले तेस्रो देशबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक मार्ग, रेल मार्ग र जल मार्ग प्रयोग गर्न पाउने व्यवस्थाबमोजिम यसअघि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गरी विराटनगर भन्सारसम्म रेल कार्गो लैजान पाउने व्यवस्था गरेको थियो ।
नेपाली महावाणिज्य दूतावासको निरन्तरको पहलपछि कोलकाता भन्सारले कोलकाता र हल्दियाबाट वीरगञ्जका साथै जोगबनीमा रहेकाे भारतीय भन्सार यार्ड हुँदै विराटनगरको नेपाल भन्सार यार्डसम्म रेलबाट मालसामान ढुवानी गर्ने प्रक्रियागत व्यवस्था मिलाएको थियो ।
यसको कार्यान्वयनका लागि महावाणिज्यदूतावासले कोलकाता भन्सार बन्दरगाह सिपिङ्गलाइनसँग समन्वय गरी आज कोलकाता बन्दरगाहदेखि विराटनगरका लागि पहिलो पटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हाे ।
कोलकातामा रहेका नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, कोलकाता भन्सार, कोलकाता पोर्ट र भारतीय कन्टेनर निगम लिमिटेडका अधिकारीहरूले संयुक्त रूपमा हरियो झण्डा देखाई रेल कार्गोको शुभारम्भ गर्नुभएको हो ।
नेपाल–भारत सीमावर्ती क्षेत्र जोगबनी एकीकृत भन्सार यार्ड हुँदै विराटनगर आइपुग्ने यो रेल सेवा पूर्णरूपमा सञ्चालनमा आएसँगै अब एकै पटकमा ४५ वटासम्म ४० फिटका कार्गो कन्टेनरहरू रेलमार्फत सीधै विराटनगर पठाउन सकिने भएको छ ।
सडक मार्गको तुलनामा रेल कार्गो सुरक्षित, भरपर्दो, न्यून लागत हुने र झन्डै २४ घन्टाको समय अवधिमा विराटनगर पुग्ने भएकाले सबै प्रकारका वस्तु आयातमा सहज हुनेछ ।
विगतमा वीरगञ्जमा मात्र यस्तो रेल कार्गो सुविधा उपलब्ध भएकोमा अब विराटनगरमा समेत रेल कार्गोमार्फत कन्टेनर र बल्क कार्गो नियमित रूपमा व्यावसायिक ढुवानी गर्ने बाटो खुला भएको छ ।
