काठमाडौं, १ साउन । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ । फिफा प्रतियोगिताको इतिहासमा पहिलोपटक यस्तो व्यवस्था गरिएको हो ।
आइतबार, १९ जुलाई, न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलपछि विश्वकप विजेताको घोषणा गरिनेछ ।
विजेता टोलीलाई प्रतिष्ठित विश्वकप ट्रफी र स्वर्ण पदकका साथै अमेरिकी खेल संस्कृतिमा निकै चर्चित मानिने विशेष च्याम्पियनसिप रिङ पनि प्रदान गरिने फिफाले जनाएको छ ।
यो रिङको २,०२६ वटा सीमित संस्करण तयार गरिनेछ, जुन विश्वकप २०२६ को सम्मानमा बनाइएको हो ।
तीमध्ये ३० वटा रिङ विजेता टोलीका खेलाडी तथा टोलीका सदस्यलाई प्रदान गरिनेछ भने बाँकी १,९९६ वटा विश्वभरका समर्थकका लागि आधिकारिक लाइसेन्स प्राप्त उत्पादनका रूपमा बिक्री गरिनेछ ।
रिङको एकपट्टि फिफा विश्वकप ट्रफीको आकृति रहनेछ भने अर्कोपट्टि विजेता राष्ट्रको पहिचान झल्किने गरी विशेष डिजाइन गरिनेछ ।
प्रत्येक रिङमा छुट्टै क्रम संख्या रहनेछ, सम्बन्धित व्यक्तिको औँलाअनुसार तयार गरिनेछ र त्यससँगै प्रामाणिकताको प्रमाणपत्र पनि प्रदान गरिनेछ ।
फाइनल सकिएलगत्तै विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई सम्झनास्वरूप अस्थायी रिङ प्रदान गरिनेछ ।
त्यसपछि विजेता टोलीका लागि तयार गरिने ३० वटा रिङ व्यक्तिगत रूपमा नापअनुसार तयार गरी पछि विशेष समारोहमा औपचारिक रूपमा हस्तान्तरण गरिने फिफाले जनाएको छ ।
फाइनल खेल नेपाली समयानुसार आइतबार मध्यरात १२ः४५ बजे सुरु हुनेछ। उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्नेछन् । सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई तथा स्पेनले फ्रान्सलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।
