सर्लाही, ०१ साउन । नयाँ सरकार बनेयता सेयरबजारमा देखिएको गिरावटप्रति लगानीकर्ताको असन्तुष्टि र आक्रोश स्वाभाविक भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले लगानीकर्तालाई नआत्तिन आग्रह गरेको छ ।
सचिवालयले शुक्रबार बिहान जारी गरेको सन्देशमा सेयरबजार अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै पछिल्लो समय अर्थतन्त्रका केही सूचक सकारात्मक रहेको दाबी गरिएको छ । तरलता पर्याप्त रहेको, ब्याजदर घटेको र सरकारले लगानी तथा खर्च प्रोत्साहन गर्ने नीतिहरू अघि बढाएको सचिवालयको भनाइ छ ।
सन्देशमा स्थिर सरकार, विज्ञ अर्थमन्त्री तथा नियमनकारी निकायमा विज्ञ र पारदर्शी नेतृत्व चयन भएको उल्लेख गर्दै सेयरबजार सुधारका लागि योजनाबद्ध काम भइरहेको दाबी गरिएको छ ।
सचिवालयले बजारबारे विभिन्न माध्यमबाट फैलाइएका नकारात्मक हल्लाप्रति सचेत रहन लगानीकर्तालाई आग्रह गरेको छ । केही व्यक्तिहरूले गलत भाष्य निर्माण गरी त्रास फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारले अफवाहका आधारमा नभई तथ्य र प्रक्रियाका आधारमा काम गर्ने स्पष्ट पारेको छ ।
‘बजारबारे आधिकारिक सूचना क्लब हाउस, ह्वाट्सएप ग्रुप, म्यासेन्जर ग्रुप वा अनधिकृत व्यक्तिहरूबाट होइन, सम्बन्धित सरकारी निकायबाट लिनुहोस्,’ सचिवालयको सन्देशमा भनिएको छ ।
