भारत, ०१ साउन । भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सकको आफ्नै फ्ल्याटभित्र हत्या भएको घटनाले सनसनी मच्चाएको छ ।
४५ वर्षीय एनेस्थेसियोलोजिस्ट डा. किरण होन्नन्नावर मृत अवस्थामा फेला परेका छन् भने उनका ८ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा उद्धार गरिएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आशंकामा उनकी पत्नी तथा नेत्ररोग विशेषज्ञ डा. प्रियंकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार डा. किरणको शव शरीरमा धारिलो हतियार प्रहारका धेरै चोटसहित फ्ल्याटभित्र भेटिएको थियो । अर्को कोठामा उनका ८ वर्षीय छोरा पनि चक्कु प्रहारबाट गम्भीर घाइते अवस्थामा रगतले लतपतिएका भेटिएका थिए । तत्काल अस्पताल पुर्याइएका बालकको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
घटनाको खुलासा त्यसबेला भयो जब डा. किरणसँग लामो समय सम्पर्क हुन नसकेपछि उनका आफन्तले बारम्बार फोन गरेका थिए ।
प्रहरीले जनाएको विवरणअनुसार पत्नी प्रियंकाले सुरुमा “उनी आराम गरिरहेका छन् र पछि “ड्युटीमा गएका छन् – भन्दै फरक-फरक जानकारी दिएकी थिइन् ।
शंका लागेपछि आफन्त फ्ल्याटमा पुगेका थिए, जहाँ डा. किरण मृत र छोरा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।
प्रहरी घटनास्थलमा पुग्दा डा. प्रियंका अर्को कोठामा शान्त रूपमा मोबाइल चलाइरहेको अवस्थामा भेटिएकी थिइन्। प्रहरी आयुक्त एन. शशिकुमारका अनुसार घटनास्थलमा कुनै बाह्य व्यक्तिले जबरजस्ती प्रवेश गरेको प्रमाण फेला परेको छैन । घटनाका बेला फ्ल्याटभित्र पति, पत्नी र छोरा मात्रै रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले यो घटनालाई प्रारम्भिक रूपमा घरेलु विवादसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ । फरेन्सिक परीक्षण, सीसीटीभी फुटेज, मोबाइल विवरण तथा अन्य प्रमाण संकलन गरी घटनाको वास्तविक कारण र हत्याको उद्देश्यबारे अनुसन्धान जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । हालसम्म प्रहरीले हत्याको अन्तिम कारण सार्वजनिक गरेको छैन र अनुसन्धान जारी रहेको जनाएको छ ।
