सर्लाही, १ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रीलंकाको कोलम्बोमा आयोजित ‘हेण्ड्स अफ एशिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा समाजवाद निर्माणको राजनीतिक रूपरेखा प्रस्तुत गरेका छन् ।
इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे विश्लेषण गरेका थिए ।
बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाका बीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता भएको उल्लेख गर्दै उनले त्यसको राजनीतिक रूपरेखा प्रस्तुत गरेका हुन् ।
सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमका कडा सर्त र वित्तीय अनुशासनबीच जनपक्षीय विकासको वैकल्पिक मार्ग निर्माणबारे आफ्नो धारणा राखेका थिए ।
त्यसैगरी विश्वप्रसिद्ध माक्र्सवादी लेखक, इतिहासकार तथा ’ट्राइकोन्टिनेन्टलः इन्स्टिच्युट फर सोसल रिसर्च’का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई साम्राज्यवादी संरचनाका परस्पर सम्बन्धित अभिव्यक्तिका रूपमा विश्लेषण गर्दै वर्तमान अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे धारणा राखेका थिए ।
तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा विभिन्न राजनीतिक तथा वैचारिक विषयमा छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनका क्रममा श्रीलंकामा रहेका प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी दलका नेतासँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसैक्रममा उनले सम्मेलनको साइडलाइनमा क्युबा, भेनेजुएला, ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकका शीर्ष वामपन्थी नेताहरूसँग पनि भेटवार्ता गरेका छन् ।
यस्तै, सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बलीका तर्फबाट ’वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा विशेष वैचारिक कार्यपत्र प्रस्तुत गरेको आयोजकले जनाएको छ ।
