सर्लाही, ०३ साउन । सर्लाही सदरमुकाम मलङ्गवास्थित नेपाल टेलिकमको टावरमा एक युवक चढेपछि सुरक्षाकर्मीले उनको सुरक्षित उद्धारका लागि प्रयास सुरु गरेका छन् ।

गोडैता नगरपालिका–९, बकैनिया निवासी २४ वर्षीय अफसर आलम हुसैन टावरको माथिल्लो भागमा चढेका हुन् । उनी रातिको समयमा नै टावरमा चढेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्राप्त जानकारीअनुसार हुसैनले बिहान करिब ४ बजे आफ्ना एक साथीलाई फोन गरी घटनास्थलमा बोलाएका थिए ।

त्यसपछि घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ ।

सुरक्षाकर्मीहरूले युवकसँग निरन्तर संवाद गर्दै उनलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरिरहेका छन् । घटनाको कारण भने हालसम्म खुलेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *