मधेशमा बालविवाह अन्त्यका लागि पहल

Byसदाम हुसैन

२०८३ कार्तिक २१, शनिवार २०८३ कार्तिक २१, शनिवार २०८३ कार्तिक २१, शनिवार

सर्लाही, २१ कार्तिक । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बालविवाह अन्त्यका लागि विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले प्रदेशस्तरीय सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।

बालविवाह विरुद्धको प्रदेशस्तरीय सञ्जाल, मधेश प्रदेशको आयोजनामा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रममा बालविवाह न्यूनीकरण तथा अन्त्यका लागि प्रदेश र स्थानीय तहमा भइरहेका प्रयास, कानुनी व्यवस्थाको कार्यान्वयन अवस्था र आगामी रणनीतिका विषयमा सहभागीहरु बिचमा छलफल गरिएको थियो । 

कार्यक्रममा सहभागी बक्ताहरुले बालविवाह अन्त्यका लागि निर्माण गरिएका कानुन, नीति तथा रणनीतिहरू व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा समस्या अझै चुनौतीका रूपमा रहेको बताएका थिए ।

वक्ताहरुले बालविवाहका घटनाको रोकथाम, न्यूनीकरण, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्न सरकारी निकाय, नागरिक समाज र समुदायबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

वक्ताहरुले बालविवाह अन्त्यका लागि तीनै तहका सरकारको भूमिका, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, पर्याप्त बजेटको व्यवस्था, जनचेतना अभिवृद्धि र समुदायस्तरमा निगरानी संयन्त्रको विकास गर्नुपर्ने विषयमा आफनो धारणा राख्नुभएको थियो ।  

कार्यक्रममा इन्सेकका मधेश प्रदेश प्रमुख राजु पासवानले खासगरी मधेश प्रदेशको दलित विपन्न परिवारमा बालविवाहको घटना बढी हुने गरेको भन्दै कानुनको कार्यान्वयनसँगै जनचेतनाको कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बालविवाह सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक अवस्थासँग जोडिएको बहुआयामिक समस्या भएकाले कानुनी कारबाहीसँगै सामाजिक रूपान्तरणका अभियानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

महिला अधिकार कर्मी जमुना भूजेलले मधेश प्रदेश सरकारले विगतमा सञ्चालन गरेको छोरी बिमा कार्यक्रमले बालविवाह न्यूनीकरणमा केही हदसम्म मद्दत पुगेको भन्दै उक्त कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न माग गर्नुभयो । लाइफ नेपालका शादिदा खातुनले बालविवाह केही हदसम्म न्यूनीकरण भए पनि अहिले मधेश प्रदेशमा भागी विवाहको घटनामा वृद्धि भएको बताउनुभयो ।

बालविवाहविरुद्धको प्रदेशस्तरीय सञ्जाल मधेश प्रदेशका कार्यक्रम अधिकृत अर्जुन साहको अध्यक्षतामा भएको सो कार्यक्रममा सरोकारवाला विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषदका मधेश प्रदेश संयोजक सञ्जिव साहले बाल विवाह न्यूनीकरणका लागि निर्माण भएका कानुन र त्यसको कार्यान्वयनको विषयमा आफनो प्रस्तुति गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *