नयाँ दिल्ली, ४ साउन । संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुँदे माग प्रस्तुत गरेका छन् ।
सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको हो ।
छलफलमा उनीहरूले सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् । नड्डाले यी मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन् ।
अर्कातिर संसद्को मनसुन अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद् भवनबाट बाहिरिएका छन् ।
संसद् भवन बाहिर ककरोच जनता पार्टी (सीजेपी) को संसद मार्चका क्रममा प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कारगेट कडा सुरक्षा व्यवस्थाबीच संसद परिसरबाट बाहिरिएको हो ।
संसद् भवन वरपर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार तथा लाठीचार्जका घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
यसैबीच जन्तरमन्तरमा एक महिनाभन्दा बढी समयदेखि आन्दोलन गरिरहेको सीजेपीले संसद्तर्फ अघि बढ्ने प्रयास गरेपछि राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जन्तर-मन्तर, रायसिना रोड, रफी मार्ग, कर्तव्य पथ र संसद क्षेत्रका विभिन्न स्थानमा ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ ।
प्रहरीका अनुसार करिब ८ हजार प्रदर्शनकारी संसद मार्चमा सहभागी भएका थिए । प्रदर्शनस्थलमा तृणमूल कांग्रेसकी सांसद महुआ मोइत्रा, अभिनेता प्रकाश राज, शबाना आजमी तथा आम आदमी पार्टीका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन्।
प्रदर्शनका क्रममा प्रहरीले व्यापक ब्यारेकेडिङ, लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप आन्दोलनकारीहरूले लगाएका छन् । दिल्ली विश्वविद्यालयकी एक विद्यार्थीले पीटीआईसँग कुरा गर्दै लाठीचार्ज र अश्रुग्यासको सामना गरे पनि आन्दोलनबाट पछि नहट्ने बताएकी छन् ।
अखिल भारतीय विद्यार्थी संघ (एआईएसए) की कार्यकर्ता नेहाले सामाजिक सञ्जाल एक्समार्फत दिल्ली प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि बल प्रयोग गरेको आरोप लगाएकी छन् ।
यसैबीच कांग्रेस सांसद रेणुका चौधरीले संसद विद्यार्थीहरूको पनि भएको भन्दै प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गर्नु सरकारको गलत कदम भएको टिप्पणी गरेकी छन् ।
सोमबार दिउँसो जनपथ मेट्रो स्टेशन बाहिर र प्रेस क्लब नजिक सयौँ प्रदर्शनकारी भेला भएका थिए। उनीहरूले केही समयका लागि संसदअगाडि पुगेर आफ्नो विरोध दर्ता गर्न दिन प्रहरीसँग आग्रह गरेका थिए ।
प्रदर्शनका क्रममा एक प्रदर्शनकारीले प्रहरीलाई ‘मलाई हान्नुहोस्’ भन्दै चुनौती दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा सुरक्षाकर्मीले लाठी प्रहार गरेको र त्यसपछि उनलाई नियन्त्रणमा लिएको देखिन्छ ।
